काठमाडौं – अञ्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले मंगलाबार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले ३–० को अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले १८ औँ मिनेटमा अञ्जन विष्टको गोलबाट अग्रता लिएको थियो । बंगलादेशका हेमन्त विनसेन्ट विश्वासले अञ्जनलाई फाउल गरेपछि नेपालले फ्रीकिक पाएको थियो । दायाँ कर्नर नजिकबाट विमल घर्तीमगरले हानेको फ्रीकिकमा अञ्जनले हेडमार्फत पोस्टको दिशा दिएका हुन् ।
२७ औँ मिनेटमा अञ्जनले नेपालको अग्रता दोब्बर बनाए । विमलको पासमा तेज तामाङले हानेको प्रहार बंगलादेशका गोलकिपर अनिसुर रहमानले पञ्च गरेर बचाएका थिए । रिबाउन्ड प्राप्त बललाई पेनाल्टी क्षेत्रमा अनमार्क रहेका अञ्जनले सहजै पोस्टको दिशा दिए ।
३८ औँ मिनेटमा अञ्जनले ह्याट्रिक पूरा गरे । तुतुल होसैन बादशाले विमललाई फाउल गरेपछि नेपालले फ्रीकिक पाएको थियो । विशाल राईको फ्रीकिकलाई अञ्जनले हेडमाफर्त पोस्टको दिशा दिएका हुन् ।
राष्ट्रिय टिममा अञ्जनको यो पहिलो ह्याट्रिक हो । नेपालबाट ह्याट्रिक पूरा गर्ने अञ्जन छैटौँ खेलाडी हुन् । यसअघि नेपालबाट गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास, नवयुग श्रेष्ठले पनि ह्याट्रिक गरेका थिए । पछिल्लो पटक नवयुगले २०१६ मा माल्दिभ्सविरुद्ध बंगबन्धु गोल्डकपमा ह्याट्रिक गरेका थिए ।
बंगलादेशका कप्तान जमल भुयानले १७औं मिनेटमा हानेको फ्रीकिक क्रसबारमा लागेर आकाशिएको थियो ।