Aamsanchar

टी २० खेलमा इंग्ल्याण्ड-पाकिस्तान रोमाञ्चक मोडमा

Author Image
शनिवार, असोज १५, २०७९

इंग्ल्याण्ड र पाकिस्तानबीचको टी–२० सिरिज रोमाञ्चक मोडमा पुगेको छ। सात म्याचको सिरिजमा दुवै टिमले ३–३ म्याच जितेका छन्।

गयराति भएको खेलमा पाकिस्तानले दिएको १७० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १४.३ ओभरमा मात्रै २ विकेट गुमाएर १७० रन बनाउँदा ८ विकेटको जित दर्ता गर्न सफल भयो। पाकिस्तानले पहिला ब्याटिङ गर्दा ६ विकेट गुमाएर १६९ रन बनाएको थियो।

टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानका लागि ओपनिङ आएको कप्तान बाबर आजमले नटआउट ८७ रनको धुवाँधार पारि खेलेका थिए।

पाकिस्तानको सुरुआत भने राम्रो रहेन। मोहम्मद रिजवानको ठाउँमा ओपनिङ आएका मोहम्मद हारिस टिक्न सकेनन्। उनी ७ रन बनाएर आउट भएका थिए। त्यसपछि शान मसूदले खाता नै नखोले पछि पाकिस्तानले १५ रन बनाउँदा २ विकेट गुमाएको थियो।

बाबर आजम र हैदर अलि मिलेर पाकिस्तानको पारि अघि बढाएका थिए। तर तेस्रो विकेटको रुपमा हैदर ८.४ ओभरमा ६२ रनको स्कोरमा पभेलियन फर्किए। हैदरले १४ बलमा १८ रन बनाउँदा १ छक्का र १ छौका प्रहार गरे। बाबर र इफ्तिकर अहमेद मिलेर टिमको स्कोर १०० प्लस बनाएका थिए।

११० रन हुँदा इफ्तिकर व्यक्तिगत ३१ रनमा आउट भए। उनले २१ बलमा २ छक्का र २ चौका प्रहार गरे। यस्तै आशिफ अलिले ९ रन जोड्दा मोहम्मद नवाज अन्तिम ओभरको अन्तिम बलमा १२ रन बनाएर आउट भए। अन्तिमसम्म क्रिजमा रहेका बाबरले ५९ बलमा ८७ रनको पारि खेलेका थिए। उनले ३ छक्का र ७ चौका प्रहार गरेका थिए।

इंग्ल्याण्डका साम करण र डेभिड विलीले दुई दुई विकेट लिए। १७० रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको इंग्ल्याण्डको सुरुआत नै धुवाँधार रह्यो। पहिलो विकेटका लागि फिल साल्ट र एलेक्स हेल्सले ५५ रनको साझेदारी गरे। ३.५ ओभरमै ५५ रन बनाएका थिए। पहिलो विकेटको रुपमा एलेक्सले १२ बलमा २७ रनको पारि खेलेर पभेलियन लागेका थिए।

उनले १ छक्का र ४ चौका प्रहार गरे। यस्तै डेभिड मलानले १८ बलमा २६ रन बनाउँदा ५ चौका प्रहार गरे। अन्तिमसम्म फिल साल्ट र बेन डकेटले मोर्चा सम्हाल्दै पाकिस्तानमाथि ८ विकेटको सहज जित दिलाए। साल्ट ४१ बलमा ८८ रनको उत्कृष्ट नटआउट पारि खेले। उनले ३ छक्का र १३ चौका प्रहार गरेका थिए। यस्तै १६ बलमा ४ चौका बेन डकेटले प्रहार गरे। पाकिस्तानको सदाव खानले २ विकेट लिए।

यो जितसँगै सात म्याचको सिरिज ३–३ को अवस्थामा आइपुगेको छ। उपाधिको छिनोफानो अव अन्तिम टी २०ले हुने छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर