Aamsanchar

झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Author Image
शनिवार, असोज १५, २०७९

झापा – झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय शनिबार स्थापना गरिएको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्ला समन्वय समिति भद्रपुरको कार्यालय भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले झापा क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय समेत मुख्य निर्वाचन अधिकृत कार्यालयको उद्घाटन गरेका हुन्। मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीलाई तोकिएको छ।

अघिल्लो निर्वाचनहरूमा सदरमुकाममै जिल्लाका पाँचवटै निर्वाचन कार्यालयको स्थापना हुँदै आएकोमा यस पटकदेखि छुट्टाछुट्टै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना हुने भएको छ।

झापा १ को मेचीनगर नगरपालिकाको कार्यालय, झापा २ को अर्जुनधारा नगरपालिकाको कार्यालय, झापा ४ को कनकाई नगरपालिका र झापा ५ को दमक नगरपालिकाको कार्यालयमा स्थापना हुने भएको छ।

चार क्षेत्रमा असोज २० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए।

कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति झापाका प्रमुख बरालले जिल्लामा प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई भयरहित, धाँधलीरहित र शान्तिपूर्ण बनाउन राजनीतिक दलहरूसहित सबै पक्षसँग सहकार्य गरी अघि बढ्ने बताएका छन्।

त्यस्तै झापा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले दसैँको मुखमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापनासँगै जिल्लामा निर्वाचन गतिविधिले तीव्रता पाइसकेको बताए।

निर्वाचनका लागि चार वटै सुरक्षा निकाय आआफ्नो तयारीमा जुटिसकेको बताउँदै प्रजिअ रिजालले भने, ‘असोज २३ गते २६ गतेसम्म उम्मेदवारी दर्तादेखि चुनाव चिह्न प्रदान गरिसक्नु पर्नेछ, त्यसका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउने गृह कार्यमा जुटेका छौँ।’ कार्यक्रममा नेकपा एमालेका जिल्ला उपसचिव असारु राजवंशी, नेपाली काँग्रेसका जिल्ला सदस्य रमेश पोखरेल, राप्रपाका जिल्ला सचिव अभिषेक ढुङ्गाना, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष वेदराज रेग्मीले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सहायक निर्वाचन अधिकृत वीरेन्द्र बस्नेतले गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर