बलि दिने विषयमा आजभोलि चौतर्फी रूपमा विरोध हुन थालेको छ । जनावर अधिकारसँग सम्बन्धित सङ्घ–संस्थाहरूले अनि अन्तर्राष्ट्रिय नागरिक समाजहरूले यस्ता कार्यहरूलाई निन्दनीय भनेर व्याख्या गरेको छ । अहिंसा पक्कै पनि राम्रो कुरा हो, तथापि सभ्यतासँगै मासु खान जनावरहरूलाई प्रयोग गरिआएको चलनको मांसाहारीले पनि आ–आफ्नै तवरले व्याख्या गरेका छन् ।
चाहे हिन्दुहरूको दसैँ होस् या क्रिस्टियनहरूको क्रिसमस अनि थ्याङक्स गिभिङ्गमा खाइने टर्की चराहरू या मुसलमानहरूको इद बकरइदमा काटिने खसी बोकाहरू, कहीँ–कतै धर्म र संस्कारहरूबाटै मानव सभ्यताले मांसाहारी चलन बोकेर ल्याएको तथ्य पनि हामीले पछ्याइ आएका छौँ ।
पछिल्लो समयमा बलि दिने विषयमा धेरै कमी आएको पाइएको छ । विशेषतः दसैँमा खसी काट्नै पर्ने, ज्वाइँ–पाहुनालाई मासु खुवाउनै पर्ने चलन सम्मान र प्रतिष्ठाका रूपमा हेरिन्थ्यो । बिहानैबाट खसी काट्ने घरमा विशेष चहलपहल रहन्छ । पानी तताउने अनि काट्ने मान्छे बोलाउने लगायत कसको घरको खसी कति किलोको भयो रु कसको घरको खसी कुन रङ्गको ? आदिजस्ता जिज्ञासा र उत्सुकता विशेष गरी केटाकेटीहरूमा रहने गर्छ ।
पहिले–पहिले बजारमा मासु किनेर खाने चलन नभएकाले र बजारमा सहज मासुको उपलब्धता नहुने अनि कृषि प्रधान समाज भएकाले घरमै पालिएको खसी बोकाहरूको सहज उपलब्धता भएकाले पनि बलि दिने चलन धेरै थियो । तर आजभोलि बजारमा सहज उपलब्ध मासु अनि मासु सेवनप्रतिको घट्दो आशक्तिले पनि हुन सक्छ घरैपिच्छे बलि दिने चलन घटेर गइरहेको छ ।
अर्कोतर्फ मासुहरू राख्न चाहिने चिस्यान यन्त्र अर्थात् फ्रिजहरूको उपलब्धता धेरै नेपाली घरहरूमा नभएको कारणले पनि मासुहरू स्वास्थ्यवर्धक रहिरहन पाउँदैनन् । अनि धेरै चिल्लो गरेर पक्कु मासुहरू धेरै दिनसम्म राखेर खाने चलनले स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेको हुन सक्छ । यस विषयमा मासु सेवन गर्दा सचेत रहन जरुरी छ ।