अक्षताले निधार भरिने टीका
नौ दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने टीका नै विजया दशमीको महत्त्वपूर्ण सकल परिवार एकै ठाउँमा बसेर, घरको मूल खाँबो पूजा गरेर उमेर क्रमानुसार ठुला अनि क्रमशः सानाहरूले टीका, जमरा र आर्सीवाद थाप्ने चलन छ । उमेर पुगेका पाकाहरू साइतको टिका लगाउन आफूभन्दा ठुला मान्यजन कहाँ जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजु–भाइकहाँ जाने गर्छन् ।
घरतर्फ टीका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ । केटाकेटीहरू टीका थापेपछि नयाँ, बास्नादार नोटहरू हात–हातमा लिएर हिँडेको दृश्य रमाइलै हुन्छ । ती नोटहरूमा लतपतिएको अक्षताका रातो रङ्गको एक विशेष सम्झना हामीमध्ये धेरैको वालपनसँग जोडिएको छ, केही सम्झना आयो तपाईँलाई ?
फूलपाती पनि भित्राइयो, महाअष्टमी र महानवमीमा माछा–मासुका अनेकन् परिकारहरू पक्कै पनि बने होलान् । गज्जबको पारिवारिक माहौलमा रमाइरहेकाहरूदेखि परिवार अनि देशलाई सम्झेर परदेशमा टीका थाप्ने तयारी गरिरहनुभएको तपाईँ सबैलाई विजया दशमीको दशौँ दिन अर्थात् महादशमीको शुभकामना । नेपालका सहज सहर देखी असहज अनकन्टार बस्तीसमेत आज बिहानैदेखि एउटा फरक रौनकमा सजिएर व्यस्त बनेको छ । केटाकेटीहरू नयाँ लुगा लगाएर यताउता दैलो–दैलो कुदिरहेका होलान् ! के बुढा, के वृद्ध अनि के तन्नेरी, सबैलाई दसैँको ऊर्जायुक्त रङ्गले छोएको छ ।
बौद्ध अनुयायीहरू को सेतो टीका
यो पावन पर्व हिन्दु धर्ममा मात्र सीमित नभएर एउटा सनातन चल्दै आएको पर्व हो । यसलाई बौद्ध धर्मावलम्बीहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् । फरक केवल यत्ति छ कि हिन्दुहरू रातो टीका लगाएर नव दुर्गा भगवतीको पूजा अर्चना गर्ने गर्छन् भने बौद्ध अनुयायीहरू सेतो टीका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् ।
घरको मूल टीका लगाएर ससुराली, मामाघर या ठुला बा, दाजु अनि अन्य मान्यजन कहाँ पुग्ने चलन छ । आजको दिन बाटोघाटोमा टीका अनि जमरा लगाएर सपरिवार हिँडेका दृश्यले पनि हामी नेपाली पारिवारिक सौहार्द्यता र सामीप्ययतामा कति विश्वास राख्छौँ भन्ने कुरालाई प्रस्ट पार्छ ।
दशहरा
वैदिक सनातन धर्मानुयायीहरू ले दसैँको आर्सीवादलाई पौराणिक पात्रहरू र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथि अर्थात् विजया दशमीको दसौँ दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो, दशानन रावणको पराजय ९दशानन अर्थात् दश . दस ं आनन . मुख० । आजैको दिन दुर्गा भवानीले महिषासुर नामक असुर को वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टीका, जमरा अनि रमाइलोको माहौल दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्त्वमाथि मानवताको विजयका रूपमा लिइन्छ ।