भक्तपुर नगरपालिका वडा नम्बर ९ कमिचा गल्ली बस्ने ५८ वर्षीय कृष्ण प्रसाद सैँजुले पनि ३ चोटी बत्ती यसरी बलेको स्मरण गरे । उनले ३ चोटी सिनामं तुलेगु (आफ्नो घरबाट ब्रम्हायणी मन्दिरसम्म गोलगोल गुल्टेर मन्दिर पुग्ने ) गरे ।
भक्तपुरको दसैंको यो एउटा फरक पाटो हो । प्रत्येक वर्ष दसैमा भक्तपुर नगरको पूर्वमा रहेको ब्रम्ययणी मन्दिरमा यसरी नै जिउमा बत्ती बाल्नेहरु रहेका हुन्छन् । यो वर्ष सुतेर जिउमा बत्ती बाल्ने एकजना थिए भने मेचमा बसेर जिउँमा बत्ती बाल्ने करिब ८ जना थिए ।जिउमा बत्ती बल्ने दुई प्रकारको हुन्छ । एउटा मेचमा बसेर टाउको, कुमको दुई साइत र हातमा दुईता गरी जम्मा ५ वटा बत्ती बाल्ने र अर्को पुरै सुतेर जिउको माथि गोबर लगाएर गोबरको माथि १ सय ८ वटा घिरवा (बत्ती) बाल्ने ।यो सबै आफ्नै इच्छाले गर्ने गरिन्छ । इच्छाएको व्यक्तिले ब्रम्हायणीमा ब्रम्हायणी मन्दिरको चारैतिरका ठाउँहरुमा बती बाल्ने गरिन्छ । आफूले गरेको सबै काम सफल होस् र घर परिवारको सुख शान्तिको लागि भनी यसरी बत्ती बाल्ने गरिन्छ । यसका लागि साथीभाइ आफन्तले सहयोग गरेका हुन्छन् ।ब्रम्हायणीमा यसरी बत्ती बालिरहेको भक्तपुर नगरको घखाँका कृष्ण त्यात ७ चोटी जिउमा बत्ती बालिसकेको बताउँछन् । त्यस्तै भक्तपुर नगरपालिका वडा नम्बर ८ का जगातीका सुशन सुवालले ३ चोटी जिउमा बत्ती बालिसकेको बताए । उनले पहिलो पल्ट १० वर्षको उमेरमा बत्ती बालेको स्मरण गरे । बाहिर जाने तयारीमा रहेको र बाहिर गएपछि पछि बत्ती बाल्न सकिन्छ कि सकिदैन भनेर यो वर्ष पनि बत्ती बालेको उनी सुनाउँछन् ।
भक्तपुरको चाडपर्व भन्ने वित्तिकै अरुको भन्दा फरक नै हुन्छ, एकजना जात्राप्रेमी कृष्ण प्रजापतिले भने, यसरी नै दसैंमा बत्ती बाल्ने पनि यहाँको दसैंका फरकपना वा विशेषता नै हो ।
दसैको दसौं दिन अर्थात् दशमीको दिन भक्तपुरको पूर्वमा रहेको ब्रम्हायणी मन्दिरमा बिहानैदेखि मेला लाग्ने गर्छ । मेलामा बाजागाजा मात्र नभई जिउँमा बत्ती बाल्ने भक्तजनको पनि भीडभाड हुन्छ ।
स्थानीयबासीको भनाइ अनुसार आफ्नो आटेका काम, इच्छाएको काम पुगोस् भनेर बत्ती बाल्ने चलन रहेको छ । पहिला पहिला भए छोरा नभएकाहरुले छोरो पाओस् भनेर पनि यसरी बत्ती बाल्ने उनीहरुको भनाइ छ।