Aamsanchar

प्राकृतिक प्रकोप निवारक अनि थाम्न सक्ने संरचनाहरू बनाऔँ

Author Image
बिहिवार, असोज २७, २०७९

पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै विभिन्न प्राकृतिक प्रकोपहरूको सम्भाव्य जोखिममा रहेको छ । अझ मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायु परिवर्तन आदिले त झन् प्राकृतिक प्रकोपको जोखिम बढाएको छ ।

हरेक वर्ष विश्व समुदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रूपमा मनाउने गर्दछ । विभिन्न कार्यक्रम, सभा सम्मेलन, गोष्ठी इत्यादिले जनजागरण फैलाउने, अनि हानी न्यूनिकरणकालागि यस दिवसको महत्त्व धेरै छ ।

पृष्ठभूमि
प्राकृतिक प्रकोपसँग हामी जुध्न सक्दैनौ, हामीले केवल पूर्व तयारी तथा सतर्कता अपनाएर हुनसक्ने हानी न्यूनीकरण मात्र गर्न सक्दछौँ, हैन र ? सन् १९८९ को राष्ट्र सङ्घको साधारण सभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्व तयारी र जागरणको अभिबृद्धिकालागि यस दिवसको सुरुवात गरिएको हो र आज पनि यस दिनमा विभिन्न सञ्चार माध्यमहरूले विश्वभर यस विषयमा प्रभावकारी ज्ञान, सीप र धारणाको प्रवाह गर्दछन् ।

राष्ट्र सङ्घको योजना
यसका साथै समुदाय, राष्ट्र अनि क्षेत्रकै जागरण स्तर बढाउन्, पूर्व तयारी संरचनामाथिको पहुँच बढाउन अनि पीडितहरूको संरक्षण कालागि विशेष आह्वान गर्ने संयुक्त राष्ट्र सङ्घको योजना रहेको छ । छोटा(छोटा दूरीमा फरक भू-बनोट, हावा-पानी कालागि विश्व समुदायमा परिचित नेपालले पनि समय-समयमा धेरै प्राकृतिक विपत्तिहरूको सामना गर्नु परेको, समय(समयको भूँईचालो होस् या यस वर्षको भीषण बाढी पहिरो, भौगोलिक रूपमा विविधतासँगै जटिल नेपाल सदैव प्राकृतिक विपत्तिको उच्च जोखिम मै छ ।

यस वर्षको विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको नारा चाहिँ प्राकृतिक प्रकोप नियन्त्रण र जोखिम न्यूनीकरणलाई विश्वव्यापी संस्कार बनाऔँ भन्ने छ ।

अपर्याप्त प्रकोप नियन्त्रण सिप र जानकारी
दुखद कुरा चाहिँ नेपालीहरूको अपर्याप्त प्रकोप नियन्त्रण सिप र जानकारी रहेकाले हुने थप हानी र जोखिमका कारणले हुन जान्छ । राजधानी काठमाडौँ कै मूलधारको खानेपानी, स्वास्थ्य सुविधा र आधारभूत कुराहरूको सुलभतामाथि भुईँचालोले कडा प्रश्न चिह्न उठाएको हामीले चाल पाएकै हौँ । राजधानीको त्यो हविगतले सापेक्षिक रूपमा दूर दराजका गाँउहरुको अवस्था सहजै बयान गर्दछ । नेपाली पाठ्यक्रममा अझै पनि प्राकृतिक प्रकोप नियन्त्रणका प्रयोगात्मक अभ्यास र व्यवहारिक शीर्षकहरू नहुनु झनै दुखदायी कुरा हो ।

अझ अव्यवहारिक विकासे ज्ञान जस्तै भुईँचालो आउँदा टेबल मुनी या घरभित्रै रोकिएर छेलिएर आडमा बस्ने भन्ने ज्ञानहरूले ठ्याक्कै विपरीत ज्यान जोखिममा पारेको र बाँच्नुपर्ने ज्यान पनि मृत्यु र अङ्गभङ्गको जोखिममा परेको उदाहरण भूँईचालो ताका देखिएको हो । माटो सुहाउँदो प्रविधि र प्रक्रियाको साटो हामी आयातित कुरामा सोलोडोलो लागेको परिणाम हुन सक्दछ, अझै पनि नेपाली भूमिमा प्राकृतिक प्रकोप भएमा न्यूनतम पूर्व तयारी पनि छैन ।

फेरि प्राकृतिक प्रकोप नियन्त्रणको एकमुस्ट जिम्मा अनि जागरणका कार्यक्रम धेरै हदसम्म गैर सरकारी संस्थाको पोल्टामा पर्नु पनि दुर्भाग्य नै हो । शायद यसै कारणले पनि भूकम्प पश्चात् धर्म परिवर्तन र मानव तस्करका कुराहरू आएका हुन सक्छन् । यस्ता संवेदनशील कुरामा सरकारी र गैर सरकारी दुवै तहको समान सहभागिता जरुरी छ । आजको दिन यी सबै कुराहरू विश्व समुदायसँगै नेपालले पनि बुझ्न र आत्मसाथ गर्न जरुरी छ ।

प्राकृतिक प्रकोप निवारक अनि थाम्न सक्ने संरचनाहरू बनाऔँ, आउँदा पुस्तालाई यसको पूर्व तयारीप्रति सजग गराऔँ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 311

प्रतिक्रिया (०)

सम्बन्धित खबर