Aamsanchar

अनुशासनविपरीत कार्य गरेको भन्दै नेविसंघ धनकुटा सभापति पार्टीबाट निष्कासित

Author Image
बिहिवार, असोज २७, २०७९

धनकुटा – अनुशासनविपरीत कार्य गरेको भन्दै नेपाली कांग्रेस धनकुटाले नेपाल विद्यार्थी संघका जिल्ला सभापति बालनन्द दाहाललाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गरेको छ ।

दाहालले प्रदेशसभा निर्वाचनका लागि जिल्लाको क्षेत्र नं.२ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेस जिल्ला सभापति दिनेश राईले विज्ञप्तिमार्फत दाहाललाई निष्कासन गरेको जनाए । पार्टीको अनुशासनविपरीत गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले दाहाललाई केन्द्रको निर्देशनअनुसार कारबाही गरिएको राईको भनाइ छ ।

यस्तै, कारबाहीमा परेका दाहालले आफ्नो उम्मेदवारी गलत नभएको दाबी गरे । उनले भने, ‘गठबन्धनको नाममा कांग्रेसको दह्रिलो पकट क्षेत्रमा पनि माओवादी केन्द्रबाट उम्मेदवार दिएकाले पार्टीलाई जोगाउन यस्तो निर्णय गरेको हुँ । सत्ता गठबन्धनका तर्फबाट धनकुटा नगरपालिका ३ निवासी कुसुमकुमारी श्रेष्ठलाई उम्मेदवार बनाइएको छ । श्रेष्ठ क्षेत्र नं.१ बासिन्दा रहेको र क्षेत्र नं. २ मा‚ त्यो पनि फरक पार्टीको व्यक्तिलाई उम्मेदवार बनाइनु गलत रहेको दाहालको तर्क छ ।

आफूले पार्टीका क्रियाशील कार्यकर्ता तथा नेताको आग्रहमा उम्मेदवारी दिएको उनी बताउँछन् । ‘मलाई पार्टी पंक्तिको ठूलो साथ छ,’ उनले भने, ‘कारबाही गरिए पनि पार्टीको भलाइका लागि नै मेरो उम्मेदवारी हो । स्थानीय तह निर्वाचनमा ७ पालिकामध्ये क्षेत्र नं. २ मा रहेका तीनवटै पालिका कांग्रेसले जित हात पारेको छ । तसर्थ उक्त क्षेत्रमा गठबन्धनबाट कांग्रेसकै उम्मेदवार हुनुपर्ने पार्टीभित्रबाट माग हुँदै आए पनि सुनुवाइ नभएको कार्यकर्ताको गुनासो छ ।

Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर