Aamsanchar

ग्रामीण महिलाहरूको भूमिका

Author Image
शनिवार, असोज २९, २०७९

फोटो: गुगलबाट

घरभित्रको काममा सीमित ग्रामीण महिलाहरूलाई परिवार र समाजको महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्थानमा पुर्‍याउने पवित्र भावनाले ग्रामीण महिला दिवस मनाइन्छ । ग्रामीण महिलाहरूलाई घरको काम बाहेक आयआर्जन मूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउनु यो दिवस मनाउनुको अर्को ठुलो उद्देश्य हो । संयुक्त राष्ट्र सङ्घको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउने क्रम सुरु भएको हो ।

नेपालमा ग्रामीण महिलाहरूको भूमिकालाई सम्मान गर्दै यो दिवस वि.स. २०७० देखि मनाउन थालिएको हो । दिगो विकासका लागि आर्थिक, वातावरणीय र सामाजिक परिवर्तनको आवश्यकता पर्ने भएकोले त्यसका लागि ग्रामीण महिलाहरू नै महत्त्वपूर्ण प्रतिनिधि हुन भन्ने राष्ट्र सङ्घको बिचार रहेको छ । नेपाल जस्ता देशहरूमा भने सम्पत्ति, स्वास्थ्य र शिक्षामा महिलाको पर्याप्त पहुँच पुग्न सकेको छैन । ग्रामीण महिलाहरूलाई सशक्तीकरणका माध्यमबाट सक्षम नागरिकका रूपमा पहिचान गराउन सके परिवार र समग्र देशकै समृद्धि हुने विश्वास गरिएको छ ।

लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीति र राज्यका हरेक निकायमा महिला त्यसमा विशेष गरी ग्रामीण महिलाहरूको पहुँच समान रूपमा सुनिश्चित हुनु अत्यावश्यक रहेको छ । महिला सशक्तीकरणका लागि विश्वव्यापी रूपमा प्रयासहरू नभएका भने होइनन् । विभिन्न आन्दोलन र अभियानहरूका कारण संयुक्त राष्ट्र सङ्घले सन् १९७५ लाई संयुक्त राष्ट्रसङ्घीय महिला वर्ष रुपमा मनाएको थियो । त्यसै गरी सन् १९७५ देखि १९८५ सम्मको समयलाई महिला दशक घोषणा गरी विभिन्न घोषणापत्रहरू जारी गरिएको थियो । सन् २००० देखि २०१५ सम्मको सहश्राब्दी विकास लक्ष्य अनुसार लैङ्गिक समानता, प्रवर्द्धन तथा महिला सशक्तीकरणका लागि प्रयासहरू गरिएका छन् । सोहीअनुरूप नेपाल जस्ता अल्पविकसित देशहरूमा छुट्टाछुट्टै कार्यक्रम तथा योजनाहरू बनाई कार्यान्वयन गरिँदै आएका छन् ।

वर्ष २०२२ को अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसको नारा चाहिँ “Rural Women Cultivating Good Food for All” रहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 391

प्रतिक्रिया (०)