Aamsanchar

नवौँ राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङबाट खसेर आर्मीका खेलाडी थापाको मृत्यु

Author Image
आइतवार, असोज ३०, २०७९

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापाको निधन भएको छ।

आइतबार बिहान उडानको केही समयपछि नै उनी दुर्घटनामा परेका हुन्। पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २८ वर्षीय निशिमले पोखराको सराङकोटबाट उडान भरेका थिए।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रीको खेल जारी रहेको थियो। ‘उडानलगत्तै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो’, एक प्रत्यक्षदर्शीले भनेका छन्, ‘उनी सोझै पोखरा–१८ सराङकोटस्थित निर्माणाधीन भवनमा खसेका थिए।’

बिहान झन्डै साढे दश बजेको समयमा उनी करिब एक सय मिटरको उचाइबाट खसेका थिए। ग्लाइडर नखुलेर वा हावाको उल्टो बहावका कारण उनी जमिनमा बजारिएको अनुमान छ।

लामो समयदेखि पोखरामा रहेर प्याराग्लाइडिङमा सहभागी निशिम पोखरा महानगरपालिका–१० हस्पिटल चोकमा बस्दै आएका थिए। उनको घर भने गोरखाको पालुङटार नगरपालिका हो। उनी प्याराग्लाइडिङ खेलाडीहरूको छाता संस्था एफएआईका ‘कम्पिटिशन वरीयता’ प्राप्त खेलाडी समेत हुन्।

दुर्घटनालगत्तै उद्धार गरेर उनलाई उपचारका लागि पोखराको सृजना चोकमा रहेको मेट्रोसिटी अस्पताल लगिएकोमा आइतबार मध्याह्न चिकित्सकले मृत घोषणा गरेका थिए। थापाको शवलाई अहिले भने पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ।

उनको निधनसँगै आज हुने भनिएका प्याराग्लाइडिङतर्फका सबै खेल रद्द भएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
Views: 310

प्रतिक्रिया (०)

सम्बन्धित खबर