Aamsanchar

नेपाली किसानले सुन्तला टिप्न थाले   

Author Image
शुक्रवार, कार्तिक ११, २०७९

फायल फोटो : गुगलबाट

काठमाण्डौ।  किसानले सुन्तला टिप्न सुरु गरेका छन् । कात्तिक पहिलो हप्तादेखि नै स्वदेशी सुन्तला बजारमा भित्रिन थालेको छ । अहिलेदेखि टिप्न सुरु भएको सुन्तला पुस र माघसम्म बजारमा कारोबार हुन्छ । सुन्तला तथा  फलफूलको खेति तथा गुणस्तर र उचित भण्डारणमा ध्यान दिन सके राम्रै आम्दानी गर्न सकिने वरिष्ठ कृषि अधिकृत माधव लम्सालले बताउनुभयो ।

सुन्तला जातका फलमा सुन्तला, जुनार, कागती, निबुवा, मौसमलगायत पर्छन् । अझ देशबाहिर निर्यात गर्न सके किसानलाई खेतीमा उत्साह र उत्पादनबाट उचित नाफा पनि हुन्छ । सुन्तला सुपर जोन रहेको स्याङ्जाको सुन्तला र सिन्धुलीको जुनारलाई चीनमा निर्यात गर्ने चर्चा भए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

तीन वर्षअघि २०७६ साल असोज २५ र २६ मा चिनियाँ राष्ट्रपति सी जिन पिङले नेपाल भ्रमण गरेका बेला सुन्तला र जुनार चीनको जिनज्याङ प्रान्तमा निर्यात गर्नेगरी सम्झौता भएको थियो । सम्झौता हुनु ७ वर्षअघि नै रोगकिरा नलागेका सुन्तला र जुनार निर्यातको पहल गरिएको थियो । तर पछिल्लो सम्झौता लगत्तै नेपालमा उत्पादित सुन्तला र जुनारले अन्तर्राष्ट्रिय बजार पाउनुका साथै किसानले राम्रो मूल्य पाउने अपेक्षा गरिएको थियो ।

फायल फोटो : गुगलबाट

मुख्यगरी सुरुमा सुन्तला सुपर जोन रहेको स्याङ्जाको सुन्तला र सिन्धुलीको जुनारलाई निर्यात गर्ने भनिएको थियो । तर यो सम्झौता अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । निर्यातका लागि सुन्तला तथा जुनारको गुणस्तरसहित रोगकिरा मुक्त भएको हुनुपर्ने मापदण्ड पूरा गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाका वरिष्ठ कृषि अधिकृत माधव लम्सालले बताउनुभयो । सुन्तलामा औँसा किरा तथा लाही बढी देखिने रोग हो । तर यसवर्ष म्याग्दीमा नयाँ रोग समेत देखिएको छ ।

दानाको बोक्रामा थोप्ला–थोप्ला दाग लागेर स्वरुप बिगार्ने अर्थात् ‘स्केल’ रोग देखिएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलका अनुसार सुन्तलामा देखिएको दागले स्वरुप बिगार्ने समस्या छ । सिग्देलका अनुसार स्केल रोग म्याग्दीको सुन्तला बगैँचामा देखिएको नयाँ समस्या हो ।

फल टिपेपछि प्रति एक लिटर पानीमा १० मिलीलिटरका दरले सर्वो आयल मिसाएर सुन्तलाको बोटमा छर्केपछि यो समस्या समाधान गर्न सकिने उहाँको भनाइ छ । सुन्तला म्याग्दीको प्रमुख निकासीयोग्य फल हो ।

म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा धेरै सुन्तला बगैँचा छन् । श्रोत : उज्यलो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 385

प्रतिक्रिया (०)

सम्बन्धित खबर