

काठमाडौं – डिफन्डिङ च्याम्पियन फ्रान्सका स्टार पाउल पोग्बाले यो विश्वकप फुटबल गुमाउने भएका छन्। चोटका कारण उनले आगामी महिना कतारमा हुने विश्वकप फुटबल गुमाउन लागेका हुन्। विश्वकप अघि पोग्बा निको हुने अपेक्षा गरिएको थियो। तर घुँडाको शल्यक्रियाबाट निको हुन अझै समय चाहिने भएकाले उनी कतार नजाने भएका हुन्।

पोग्बाका एजेन्ट राफायल पिमेन्टाले पोग्बा फ्रान्सेली टिम बाहिर रहने स्पष्ट पारेका छन्।

‘टोरिनो र पिट्सबर्गमा हिजो र आजको चिकित्सा समीक्षा पछि, पल पोग्बालाई उनको शल्यक्रियाबाट निको हुन अझै समय लाग्ने जानकारी दिन अत्यन्त पीडादायी छ’, पोग्बाका एजेन्ट राफाएला पिमेन्टाले सोमबार एक विज्ञप्ति निकाल्दै भनेका छन्।

उनले अगाडि भनेका छन्, ‘यसै कारण, पोग्बा विश्वकपको विश्राम अघि न त युभेन्टसको टोलीमा सामेल हुन सक्नेछन् न त फ्रान्सको राष्ट्रिय टोलीमै।’पोग्बा आफूलाई चाँडो मैदान फर्काउन चाहन्छन्। तर उनलाई धैर्यता राख्न आवश्यक रहेको उनले बताए।

