Aamsanchar

नेपालमै पहिलो पटक दाङको एक सहकारीलाई  मावि स्तरको विद्यालय सञ्चालनको अनुमति

Author Image
मङ्गलवार, कार्तिक १५, २०७९

दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच माध्यमिक विद्यालयले सहकारी विद्यालय सञ्चालनको अनुमति प्राप्त गरेको छ । तुलसीपुर –७ मा रहेको विद्यालयलाई हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गर्ने अनुमति प्राप्त गरेको हो ।

सहकारीलाई तुलसीपुर उपमहानगरपालिकाले विद्यालय सञ्चालनको अनुमति दिएको हो ।

सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन सम्बन्धी निर्देशिका २०७८ बमोजिम हाम्रो पहुँच माविलाई हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अन्तर्गतको सहकारी विद्यालयको रुपमा सञ्चालन गर्न अनुमति प्रदान गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले जानकारी दिनुभयो ।

उपमहानगरपालिकामा यसअघि कुनै पनि सहकारीले विद्यालय सञ्चालनको अनुमति नपाएको उहाँले बताउनुभयो  । सहकारीले विद्यालय सञ्चालन गर्ने अनुमति प्राप्त गरेको नेपालमै पहिलो पटक हो ।

नगरप्रमुख टिकाराम खड्काले सहकारीका अध्यक्ष शुक्रराज भण्डारी, सल्लाहकार भरत भण्डारी र विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीलाई सोमबार (आज) विद्यालय सञ्चालनको अनुमति पत्र प्रदान गर्नुभएको हो ।

निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेको तत्परतामा सहकारी विद्यालय सञ्चालनको निर्देशिका २०७८ जारी भएसँगै अहिले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारीले विद्यालय सञ्चालनको अनुमति प्राप्त गरेको सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिनुभयो ।

सहकारीले विद्यालय सञ्चालन गर्ने अनुमति प्राप्त गरेको नेपालमै पहिलो भएको उहाँले बताउनुभयो । उहाँले विद्यालय सञ्चालनको अनुमतिका लागि निर्देशिका बनाउने जनप्रतिनिधि र कर्मचारीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)