Aamsanchar

आज ठुली एकादशी, तुलसीको महत्त्वको विषयमा पद्म पुराणको एउटा प्रसङ्ग

Author Image
शुक्रवार, कार्तिक १८, २०७९

ठुलो एकादशी
हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुलो एकादशी भनिएको हो ।

भगवान् विष्णु उठ्ने एकादशी
जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।

तुलसीको विवाहको दिन
आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले त हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् ।

तुलसी पूजाको महत्त्व
वैदिक सनातन संस्कारमा तुलसी पूजाको ठुलो महत्त्व छ । हजारौँ वर्षदेखि सनातन संस्कारीहरू प्रातः कालमा नै उठेर तुलसीमा पानी चढाएर र नमन गरेर मात्र आफ्नो दैनिकीमा लागेको पाइन्छ ।

वैदिक सनातनमा तुलसीको महत्त्व प्रत्येक विशेष उत्सव वा कुनै धार्मिक कार्यमा पनि रहँदै आएको छ । मानिसको जन्म हुँदा होस् या मृत्यु हुँदा नै किन नहोस्, सनातनी संस्कारमा तुलसीको बिरुवा वा तुलसीको पातको प्रयोग हुँदै आएको छ, यसको महत्त्व रहेको छ । हिन्दु धर्मालम्बीहरुले आँगनको छेउमा बनाएको तुलसीको मठलाई पवित्र स्थान मानिने चलन छ । तुलसीको पातको पनि विशेष महत्त्व रहेको छ । अनि तुलसीको डाँठबाट बन्ने मालालाई त निकै पवित्र मानिन्छ ।

तुलसीको महत्त्वको विषयमा पद्म पुराणको एउटा प्रसङ्ग
तुलसीको महत्त्वको विषयमा पद्म पुराणको एउटा प्रसङ्गलाई लिन सकिन्छ । बिन्दा देवीले पृथ्वीमा आएर भगवान् विष्णुलाई आफ्नो पतिको रूपमा पाउन गरेको तपस्यासँग तुलसीको महत्त्व जोडिएको छ । त्यस्तै, श्रीमद् भागवत पुराणमा पनि तुलसीको बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको छ ।

भोजनमा सधैँ तुलसीको पात पनि राख्ने भगवान् श्रीकृष्णसँग पनि तुलसीका विभिन्न प्रसङ्गहरू जोडिएका छन् । त्यसैले पनि अँजुलिभर पानी लिएर तुलसीको पातमा सफा हृदयले अर्पण गर्दा मात्रै पनि श्रीकृष्ण भगवानको कृपाले आफूले चाहेको फलहरू मिल्ने विश्वास पनि गरिएको छ । स्कन्द पुराणमा पनि तुलसीको पूजा गरेमा अनन्त फल प्राप्त हुने प्रसङ्ग उल्लेख गरिएको छ ।

हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने एकादशीमा रोपिएको तुलसीको बिरुवा आजको दिनसम्म निकै हुर्किएको हुन्छ । आषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवालाई आजको दिन पिपलसँग विवाह गरिदिने प्रचलन पनि रहेको छ ।

यसका लागि तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाड्ने अनि रंगरोगन गरेर शृङ्गार गर्ने चलन रहेको छ । आजको दिन हिन्दु धर्मालम्बीहरुले रुद्री पूजा गर्ने चलन पनि रहेको छ ।

काठमाडौँ उपत्यकाका चार नारायण
भगवान् विष्णुका अनेक नाममध्ये एक नाम हो, नारायण । आजको दिन विष्णु भगवानको चर्चा गर्दा काठमाडौँ उपत्यका र नारायणसँग सम्बन्धित केही विषयमा पनि चर्चा गरौँ ।

परापूर्व कालदेखि काठमाडौँ सहरमा भगवान् विष्णुको अनुकम्पा रहिरहोस् भनेर उपत्यकाका चारैतर्फ विष्णु भगवानको प्रतिमा पनि राखिएको छ । भगवान् विष्णुको अनुग्रह काठमाडौँमा सधैँ परोस् भन्नका लागि यसो गरिएको हो । काठमाडौँको पश्चिममा इचङ्गुनारायण, पूर्वमा चाँगुनारायण, उत्तरमा विशंखुनारायण अनि दक्षिणमा शेषनारायणले काठमाडौँ उपत्यकालाई सधैँ हेरिरहेका छन् भन्ने मानिन्छ ।

आजको दिन यी ठाउँहरूमा विशेष पूजा गर्ने चलन पनि रहेको छ । श्रद्धासहित भक्तजनहरू यी ठाउँमा पुग्ने गर्छन् । बिहानैदेखि भगवान् विष्णुको प्रतिमा भएका ठाउँमा पुगेका श्रद्धालुहरूले साँझ अबेरसम्म पूजापाठ गर्ने चलन रहेको छ । पहिले पहिले त यी चारै नारायण भएको ठाउँमा भक्तालुहरू हिँडेर एकै दिनमा पुग्ने गरेको चर्चा पनि सुनिन्छ ।

यसरी एकै दिनमा यी ठाउँहरूमा पुग्दा अन्त्यमा शेषनारायण भएको ठाउँमा भक्तालुहरू पुग्ने गरेका थिए । शेषको अर्थ अन्त्य भएकाले पनि यस्तो गरिएको हुनसक्ने विश्वास छ । केही पछि यी चारै नारायण पुग्न नसक्ने भक्तालुहरूका लागि पाटनको कृष्ण मन्दिरको छेउमा चार नारायणको प्रतिमा राखिएको छ । यी चार नारायणको प्रतिमामा फेरो लगाउँदा पनि चारै नारायणमा पुगेको जत्तिकै फल मिल्ने विश्वास गरिन्छ ।

आजको दिन नेपालभरका विभिन्न भगवान् विष्णुका मन्दिर तथा तीर्थस्थलमा तीर्थाटन गर्ने भक्तजनहरूको व्यापक भीड लाग्ने गर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 387

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१