Aamsanchar

हत्या भएर जंगलमा शव भेटिएका भनिएको शरद र रोशनीको मृत्युको कारण अर्कै भएको प्रहरी निश्कर्ष

Author Image
आइतवार, कार्तिक २०, २०७९

दाङ । दाङ तुलसीपुरको दमार गाउँको जंगलमा शव भेटिएका शरद आचार्य र रोशनी महतराको मृत्यु विद्युतीय धरापमा परेर भएको प्रहरी निश्कर्ष मा पुगेको छ ।

गत असोज ३० गते दमार गाउँकी १५ वर्षीया रोशनी महतरा र सोही ठाउँमा बस्ने दंगीशरण गाउँपालिका–६ थपगाउँका–१४ वर्षीय शरद आचार्यको शव जंगलमा एकै ठाउँमा फेला परेको थियो । सुरुमा शव फेला पर्दा हत्या भएको हुन सक्ने प्रहरीको आशंका थियो ।

तीन साता लगाएर गरेको अनुसन्धानले प्रहरी नयाँ तथ्यमा पुगेको हो । घटनाबारे विभिन्न चरणमा पुगेर अनुसन्धान टुंग्याएपछि प्रहरीले शरद–रोशनीको हत्या नभएर विद्युतीय धरापमा परेर मृत्यु भएका निश्कर्ष निकालेको छ ।

प्रहरी स्रोतका अनुसार गाउँका वासिन्दाले बँदेललाई बस्तीमा आउनबाट रोक्न थापेको विद्युतीय धरापमा परेर करेन्ट लागेर शरद र रोशनीको मृत्यु भएको थियो । उनीहरुको मृत्युपछि घटनालाई लुकाउन स्थानीय चार जनाले शरद र रोशनीको शव जंगलमा लगेर गाडेको प्रहरी स्रोतले बतायो । प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

घटनाबारे प्रहरीले आधिकारिक रुपमा बोलेको छैन । प्रहरीले आज आइतबार पत्रकार सम्मेलन गरेर घटनाबारे थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

 

Views: 327

प्रतिक्रिया (०)