Aamsanchar

 कनकाई नगरपालिकाले घर भत्काएपछि घरधनीद्वारा क्षतिपुर्ती माग 

Author Image
मङ्गलवार, कार्तिक २२, २०७९

सुरुङ्गा । झापा कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा एक व्यापारिक भवन कनकाई नगरपालिकाले डोजर लगाएर भत्काएको बताउँदै घरधनी पदम प्रसाईँले उचित क्षतिपूर्तिको माग गरेका छन् । प्रसाईले सोमवार (हिजो) सुरुङ्गामा पत्रकार भेटघाटको आयोजना गरेर क्षतिपूर्तिको माग गरेका हुन् ।

सुरुङ्गा स्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गदेखि दक्षिण अमरपथ मार्गमा पर्ने कित्ता नं. २६७ को साढे ३ धुर जग्गामा बनेको चारतले भवन कनकाई नगरपालिका र वडा नं. ३ ले डोजर लगाएर आइतबार भत्काईदिएको दिएको र आफ्नो एक करोडभन्दा वढीको क्षति भएको प्रसाईले बताएका छन् ।

बाटोको सेन्टरबाट ४० फुट बाटो, ढल र सेटब्याट ७ फिट कायम गरि नगरपालिकाले २०७३ जेठ २४ मा घर नक्सा प्रमाणित गरी घर नक्साको प्रमाण दिइसकेको अवस्थामा नगरपालिकाले पूर्वाग्रहपूर्ण ढंगले घर भत्काएको प्रसाईले आरोप लगाएका छन् ।

बाटो निर्माणाधिन रहेकै अवस्थामा २ घर दक्षिणबाट २०७५ पुसमा बनेको डिपिआर विपरित बाटो बङ्ग्याइएको बताउँदै प्रसाईले कनकाई नगरपालिकाले बाटोको डिपिआर तथा नगरपालिकाले नै दिएको घर–जग्गाको नक्सा पास विपरित घर भत्काएको घटनाप्रति आपत्ति जनाएका छन् ।

२०७७ असोजमा नगरपालिकाले घर भत्काउन सात दिने सूचना दिएको जनाउँदै उक्त निर्णय चित्त नबुझेपछि आफू न्यायका लागि अदालतमा पुगेको र २०७७ असोज १५ गते उच्च अदालत इलाममा दर्ता गराएको मुद्दा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले खारेज गर्न लगाएको बताउँदै प्रसाईंले न्यायका लागि सर्वोच्च अदालतमा पुगेर नगरप्रमुख पोखरेल, वडा कार्यालय र पूर्वाधार विकास कार्यालय भद्रपुरलाई प्रतिवादी बनाई प्रसाईले दायर गरेको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको र सर्वोच्च अदालतले आगामी पुस ११ गते पेसी तोकेपनि विचाराधिन रहेकै अवस्थामा स्थानीय सरकारले भवन भत्काउनुले न्यायालयप्रतिको पनि अपमान भएको जनाए ।डिपिआरको अध्ययन, स्थलगत अनुगमन एवं सत्यतथ्य छानवीन गरी आफूलाई न्याय दिलाइदिन पनि प्रसाईले सम्बन्धित नियायसँगै माग गरेका छन् ।

यता नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले सडक मिचेर बनाइएका घर तथा टहरा हटाउन ३५ दिने सूचना जारी गरेको पटक–पटक पत्राचार गर्दासमेत पनि अटेर गरेर नहटाएपछि डोजर लगाएर हटाएको बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 382

प्रतिक्रिया (०)