Aamsanchar

हनुमानढोकाको मन्दिरमा तलेजु भवानीको मूर्तिलाई भित्र्याइयो

Author Image
शनिवार, मंसिर ३, २०७९

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा दुई दिनसम्म मनाइने गुह्येश्वरी जात्राका क्रममा हनुमानढोकाबाट लगिएको तलेजु भवानीको मूर्ति शुक्रबार राति हनुमानढोकास्थित मन्दिरमा पुनःस्थापना गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र पशुपति क्षेत्रमा भव्यरूपमा मनाइने यो जात्रामा बाह्य एवं आन्तरिक पर्यटकको पनि भीड लाग्ने गर्छ । दुई विश्व सम्पदा क्षेत्रमा जोडिएको जात्रा भएकाले पनि यसमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । प्रत्येक वर्ष मार्गशीर्ष नवमी र दशमी गरी दुई दिन पशुपति क्षेत्रमा हुने गुह्येश्वरी जात्राका लागि तलेजु भवानीको मूर्ति बिहीबार गुह्येश्वरी मन्दिर लगिएको थियो । दुई दिने जात्रा सकी शुक्रबार राति मूर्तिलाई मन्दिरमा स्थापना गरिएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ । जात्राका क्रममा शुक्रबार बिहान गुह्येश्वरी र तलेजु भवानीको विशेष पूजापछि पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिएको थियो । जात्रा सकी शुक्रबार राति मूर्ति तलेजु मन्दिरमै फर्काइएको हो । पशुपति क्षेत्रमा मार्गशीर्ष कृष्ण नवमीदेखि दुई दिनसम्म गुह्येश्वरी जात्रा सञ्चालन गरिन्छ । यो जात्रामा गुठी संस्थान र गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा समेबजीलगायत तान्त्रिक विधिले पूजा गर्दा चढाइने चिजबिजसहित पूजा आराधना गर्ने परम्परा छ ।गुह्येश्वरी र तलेजुलाई दिदीबहिनीका रूपमा पूजिने भएकाले दुवै मूर्ति उस्तै रहेको छ । गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रूपमा पूजिने गुह्येश्वरी मन्दिरका पुजारी जैन कर्माचार्यले बताए । यो जात्राका क्रममा हनुमानढोका दरबारस्थित तलेजु भवानीको मन्दिरबाट मूर्ति गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट नै पूरा गरिन्छ ।

दुई दिने गुह्येश्वरी जात्राका क्रममा बिहीबार रातभर गुह्येश्वरी मन्दिरमा बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिएको थियो । बिहीबार बेलुकी हनुमानढोका दरबारबाट तलेजु भवानीलाई गुह्येश्वरी लगेर मन्दिरमा रातभर बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ ।

गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई पशुपतिनाथका मूलभट्टबाट विधिपूर्वक पूजा गराउने परम्परा छ । पशुपतिनाथ मूल मन्दिरबाट अमालकोट कचहरीको डबलीमा लगेर पूजा गरिन्छ । त्यहाँबाट जयवागेश्वरीको नवालीटोलमा लगेर विधिवत् पूजा आराधना गरिन्छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा हुने पूजा आराधनामा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ ।

जात्राका लागि नेपाली सेनाको गुरुजुको पल्टनसमेत सहभागी हुने प्राचीनकालदेखिको परम्परा छ । नेपाली सेना, संस्थान, अमालकोट कचहरीलगायतले विधिपूर्वक छुट्टाछुट्टै पूजा गर्छन् । नवाली टोलमा निजी गुठीका गुठियारले पनि पूजा गर्ने अवसर पाउँछन् । नवालीटोलको पूजापछि रथलाई सिफल–ज्ञानेश्वर–कमलपोखरीमा पनि विशेष पूजा आराधना गरिन्छ ।

कमलपोखरीको विशेष पूजापछि कृष्ण पाउरोटी–तीनधारा पाठशाला–जमल–असन हुँदै शुक्रबार बेलुकी तलेजु भवानीको मन्दिरमा मूर्तिलाई लगिएको संस्थानले जनाएको छ । बिहीबार पनि यही मार्गबाट मूर्तिलाई गुह्येश्वरी मन्दिर लगिएको हो । यो जात्राका क्रममा धिमे बाजा, नायखी, बाँसुरी वादन गरिन्छ । जात्रामा नियमित भजनकीर्तन गर्ने समूहका सदस्य पनि सहभागी हुने गर्छन् । जात्रा सकिएसँगै शुक्रबार गुह्येश्वरीमा ठड्याइएको लिङ्गो ढालिएको थियो ।

गुह्येश्वरी जात्राको पहिलो दिन बिहीबार मन्दिर क्षेत्रमा लिङ्गो उठाइएको थियो । गुह्येश्वरी जात्राका लागि हनुमानढोकाबाट तलेजु भवानीको मूर्तिलाई गुह्येश्वरी लैजाने जिम्मा पशुपति सिर्जनशील युवा क्लबलाई दिइएको कार्यालय प्रमुख सुशीला शर्माले जानकारी दिए । जात्राका लागि तलेजु भवानीलाई दुई दिनसम्म गुह्येश्वरीमा राखिन्छ ।

गुह्येश्वरी मन्दिर क्षेत्रमा तलेजु भवानीलाई लैजानुअघि नै त्यहाँ ३२ हातको लिङ्गो पनि बिहीबार नै ठड्याइएको हो । जात्राका लागि लिङ्गो पशुपति क्षेत्रस्थित भण्डारखालबाट सालको रुख काट्ने गरिन्छ । तान्त्रिक विधिपूर्वक पूजा सकेपछि जात्राका लागि ल्याइएको तलेजु भवानीको मूर्ति पशुपति सिर्जनशील युवा क्लबले नै शुक्रबार राति फिर्ता गरेको हो ।

जयप्रकाश मल्लको पालादेखि सुरु भएको यो जात्रा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमी र दशमीमा हनुमानढोका दरबारबाट पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरसम्म गरिन्छ । पशुपति क्षेत्रमा सञ्चालन हुने दर्जनौँ जात्रामध्ये गुह्येश्वरी जात्रा पनि एक हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१