

विराटनगर । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मोरङका १६६ जना उमेदवारको जमानत जफत भएको छ । निर्वाचन कार्यालय प्रदेश १ ले दिएको जानकारी अनुसार प्रतिनिधिसभातर्फ ८७ र प्रदेशतर्फ ७९ जना उमेदवारले आयोगको मापदण्ड पूरा गर्न नसक्दा जमानत जफत भएको हो ।

आफू उठेको क्षेत्रमा कुल खसेको मतमध्ये सदर मतमा १० प्रतिशत नल्याए जमानत जफत हुने प्रावधान छ । उनीहरूले उमेदवारी दिँदा राखेको जमानतबापतको ११ लाख २५ हजार रुपैयाँ राजस्व निर्वाचन आयोगमा जम्मा भएको छ ।
प्रदेश १ का निर्वाचन अधिकारी लेबन काश्यप अधिकारीले दिएको जानकारीअनुसार मोरङ क्षेत्र नम्बर १ को प्रतिनिधिसभातर्फ ११ जना, क्षेत्र नम्बर २ मा ११, क्षेत्र नम्बर ३ मा २८, क्षेत्र नम्बर ४ मा १३, क्षेत्र नम्बर ५ मा १३ र क्षेत्र नम्बर ६ मा ११ जनाको जमानत जफत भएको छ ।

प्रदेशसभातर्फ मोरङ १ (१) मा तीनजना, (२) मा पाचजना, मोरङ २ (१) मा १० जना, मोरङ २(२) मा आठजना, मोरङ ३ (१) मा चारजना, (२) मा १० जना, मोरङ ४ (१) मा पाँचजना, (२) मा छजना, मोरङ ५ (१) तीनजना, (२) मा सातजना र मोरङ ६(१) मा १० जना, (२) मा आठजनाको जमानत जफत भएको छ ।
मोरङका ६ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यतर्फ १०५ र १२ निर्वाचन क्षेत्र प्रदेशसभा सदस्यतर्फ ११० गरी कुल २१५ जना चुनावी प्रतिस्पर्धामा थिए ।
प्रतिनिधिसभा सदस्यतर्फ १० हजार र प्रदेशसभा सदस्यतर्फ पाँच हजार रुपैयाँ उमेदवारी दर्ता शुल्क तोकिएको थियो । महिला, दलित, अल्पसंख्यकको हकमा ५० प्रतिशत दर्ता शुल्क छुट दिइएको थियो । उमेदवारी दिएकामध्ये ४९ जनाको धरौटी जागिएको छ ।

