Aamsanchar

वरिष्ठ नेता खनालको अपराजित कीर्तिमानी विजय यात्रा रोकियो :

Author Image
बुधवार, मंसिर १४, २०७९

मेचीनगर। नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको अपराजित कीर्तिमानी विजय यात्रा अन्ततः रोकिएको छ । नेकपा एमालेकातर्फबाट २०४७ को संसदीय निर्वाचनमा इलामबाट निर्वाचित नेता खनाल २०५१ सालको मध्यवाधि निर्वाचनमा संसद सदस्यमा निर्वाचित हुनुभएको थियो । ०५३ सालको गठवन्धन सरकारमा खनाल सूचना तथा सञ्चार मन्त्री हुनुहुन्यो । खनालले २०६७ माघ २३ गते तात्कालिन राष्ट्रपति रामवरण यादव समक्ष प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको थियो । २०६७ माघ २० मा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो उहाँ ।

२०६४ चैतमा भएको पहिलो संविधानसभाको निर्वाचनमा पार्टीको लज्जाजनक पराजय भएपनि प्रत्यक्ष निर्वाचित एमालेका एक मात्र शीर्ष नेता खनाल संसदीय दलका नेता समेत हुनुभएको थियो । २०६४ चैतमा भएको संविधानसभाको निर्वाचनमा पार्टीको लज्जाजनक पराजय पछि तत्कालिन महासचिव माधवकुमार नेपालले पद छाडेपछि उहाँ पार्टीको महासचिव पनि हुनुभयो ।

२०७० को दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका हिमालय कर्माचार्यलाई पराजित गदैं उहाँले विजय यात्रालाई निरन्तरता दिनुभयो । २०७४ सालमा भुपेन्द्र कट्टेललाई पराजित गर्दै अपराजित कीर्तिमानी विजय यात्रालाई उहाँले सुरक्षित पार्नुभयो । तर, २०५६ साल र २०७९ सालमा भएका निर्वाचन भने उहाँकालागि अफापसिद्घ भए । २०५६ सालमा नेकपा एमालेको विभाजनका कारण उहाँले आफ्नो संसद यात्रालाई निरन्तरता दिन सक्नुभएन भने २०७९ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उहाँ नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बन्नुभयो । माधब नेपाल समुहले नेकपा एमाले बिभाजन गरेपछि नेकपा (एकीकृत समाजवादी ) तिर लाग्नुभएको थियो खनाल ।

४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा कुनै बेलाका सहकर्मीसँग प्रतिस्पर्धामा चुनावी मैदानीमा उत्रिएका नेता खनालकालागि यो निर्वाचन अफापसिद्घ भएसँगै विजय यात्रा अन्ततः रोकिएको हो । नेकपा एमालेको महेश बस्नेतसँग नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता खनालले पराजय बेहोरेसँगै उहाँ पनि चुनाव हार्ने नेताहरुकै पंक्तिमा पर्नुभएको छ यतिखेर । प्रतिनिधिसभा निर्वाचन २०७९ मा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) का उम्मेदवार खनालले इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट पराजित हुनुभएको हो । यसअघि लगातार ५ वटा चुनाव जित्नुभएका खनाल यसपटक नेकपा एमालेको बस्नेतसँग २ हजार ६ सय ६२ मतान्तरले पराजित हुनुभयो । एमालेका बस्नेतले २५ हजार ७ सय ५० मत प्राप्त गर्दा नेकपा एकीकृतका खनालले २३ हजार ८८ मतमा रोकिनु पर्यो ।

राजनीतिक यात्रा

खनालको उदय विद्यार्थी राजनीतिबाट भएको थियो । खनालको राजनीतिक जीवन २०२१ साल देखि शुरू भएको हो । मेची विद्यार्थी संगठन अध्यक्षबाट उहाँको राजनीतिक यात्रा सुरू भयो । २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष बन्न सफल खनालले २०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्ति पछि सक्रिय राजनीति थाल्नुभयो । विद्यार्थी जीवनदेखि भूमिगत कम्युनिष्ट राजनीतिमा लागेका खनाल तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेको पोलिटब्यूरो सदस्य हुँदै महासचिव सम्म हुनुभयो ।

२०३० सालमा तीन सार्वजनिक सुरक्षा ऐन अन्तर्गत चौध महिना र राजा बीरेन्द्रको राज्याभिषेकको समयमा पनि ६ महिना जेल पर्नुभयो खनाल । जेलबाट छुटेपछि पूर्णकालिन भूमिगत खनाल २०३३ सालमा झापामा पक्राउ पर्नुभयो । २०३६ सालका प्रजातान्त्रिक आन्दोलन पछिको आम माफीमा झापा जेलबाट रिहा भएपनि पार्टीले जनमत संग्रह बहिस्कारको नीति लिएको हुनाले खनाल पुनः भूमिगत हुनुभयो । झापा विद्रोहपछि उहाँ २०३१ सालमा गठित ’क्रान्तिकारीहरूको सङ्गठन’ को–ओर्डिनेशन कमिटिको संस्थापक सदस्य हुनुभयो । २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टी मालेका सस्थापक सदस्य भएका खनाल चार वर्षपछि ६ वर्षका लागि महासचिव हुनुभयो ।

झापा विद्रोहमा संलग्न युवाको अगुवाइमा २०३१÷३२ मा को–अर्डिनेसन केन्द्र स्थापना हुँदा संस्थापक रहनु भएका खनालले २०३४ सालमा नेकपा (माले) गठन गर्दा संस्थापकीय भूमिका निर्वाह गर्नुभयो । तत्कालीन नेकपा (माले)को शक्ति संघर्षले खनाललाई नेतृत्वमा स्थापित गरेको थियो । २०३९ सालदेखि २०४६ सालसम्म नेकपा (माले)को महासचिव हुनुभएको खनालले २०३७ सालदेखि भूमिगत जीवन बिताउनु भएको थियो । उहाँ २०४६ सालको आन्दोलनको सफलता सँगै खुलामञ्चबाट जे.एन. खनालको नाममा सार्वजनिक हुनुभयो ।

२०४६ सालमा सम्पन्न नेकपा (माले)को चौथो महाधिवेशनले मदन भण्डारीलाई नेतृत्वमा स्थापित गरेको थियो । २०४६ सालको जनआन्दोलनमा उनी केन्द्रीय हाइ कमाण्डमा मालेका प्रतिनिधिको रूपमा रहनु भयो । जनआन्दोलन पछि गठित अन्तरिम सरकारमा खनाल कृषि, भूमिसुधार तथा व्यवस्था, वन र वातावरण मन्त्री हुनुहुन्थयो ।

२०४९ सालको एमालेमा मदन भण्डारीको बहुदलीय जनवादको नीति पारित ग¥योा। त्यस समयमा सि.पी. मैनालीसँग मिलेर ल्याएको कार्यानीति ’परिमार्जित नौलो जनवाद’ अल्पमतमा प¥यो, जसलाई उहाँले सहयोग गर्नुभयो । २०५४ को छैठौँ महाधिवेशनबाट खनाल स्थायी समिति र केन्द्रीय सदस्य निर्वार्चित हुनुभयो । २०५९ मा तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उहा केही समय भूमिगत हुनुभयो । सोही समय उहाँ कार्यवाहक महासचिव भएर भूमिगत रूपमा पार्टी सञ्चालन गर्नुभयो ।

२०४७ सालमा नेकपा माक्सवादी र नेकपा माले मिलेर नेकपा एमाले भएपछि सो पार्टीको स्थायी समिति सदस्य रहँदै उहाँ २०६६ सालको बुटवल अधिवेशन पछि एमालेको अध्यक्षमा निर्वाचित हुनुभयो । ३३ वर्षको उमेरमा नेकपा मालेको महासचिव रहेका बेला सोही पार्टीकी काठमाडौँ जिल्ला सदस्य रविलक्ष्मी चित्रकारसँग जनवादी विवाह गर्नुभयो खनालले । राजनीतिमा संलग्न भएकै कारण जागीर गुमाउन बाध्य भएपछि खनाल पूर्णरूपमा राजनीतिमा सक्रिय हुनुभयो ।

२०३४ सालमा नेकपा मालेको स्थापनामा संस्थापकीय भूमिका निर्वाह गरेका खनाल २०४७ सालसम्म लगातार नेकपा मालेको महासचिव र २०४६ सालताका संयुक्त वाममोर्चाको गठनका लागि पनि खनालको नेतृत्वदायी भूमिका थियो। त्यसयता नेकपा एमालेको पाचौँ छैठौ र सातौ महाधिवेशनपछि एमालेको केन्द्रीय पोलिटब्यूरो र स्थायी कमिटीमा रहेर काम गर्नुभयो । बुटवलमा सम्पन्न नेकपा एमालेको आठौ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा निर्वाचित हुनुभयो उहाँ । २०७१ साल असारमा काठमाण्डौमा भएको नवौ महाधिवेशनबाट अध्यक्ष पद केपी ओलीलाई हस्तान्तरण गरी खनाल पार्टीका वरिष्ठ नेता बन्नुभयो । नेपाली कम्युनिष्ट आन्दोलनका नेता खनाल अहिले नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता पनि हुनुहुन्छु । वि. सं. २००६ साल चैत ६ गते इलाम जिल्लाको साँखेजुङमा जन्मनु भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर