Aamsanchar

क्यामरुनसँग हारेकाे ब्राजिल समूह विजेताको रुपमा नकआउट चरणमा

Author Image
शनिवार, मंसिर १७, २०७९

कतार- फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी बाट ब्राजिल समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग १-० ले पराजित भएपनि ब्राजिल समूह विजेता बनेको हो ।

लुसेल रंगशालामा शुक्रबार ब्राजिलले क्यामरुनलाई दबाबमा राखेपनि गोल गर्न सकेन । नकआउट चरणमा स्थान पक्का भइसकेको कारण मुख्य खेलाडीलाई विश्राम दिएको ब्राजिलले आक्रमणमा बिर्सनलायक प्रदर्शन गर्यो । सुरुवाती रोजाइमा खेलेका ग्याब्रीएल जेसस र उनको स्थानमा आएका पेड्रो दुवैले प्राप्त अवसरको सदुपयोग गर्न सकेनन् । तर इन्ज्युरी समयमा क्यामरुनले कप्तान भिन्सेन्ट अबुबकारमार्फत गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो ।

पहिलो हाफमा ब्राजिलले एकतर्फी दबाब कायम गरेपनि गोल गर्न सकेन । क्यामरुनका गोलरक्षक एपासीले मार्टिनेलीको हेडर उत्कृष्ट ढंगले विफल पारे । इन्ज्युरी समयमा क्यामरुनको बिरलै देखिएको आक्रमणमा गोलरक्षक एडरसनले उत्कृष्ट बचाउ गरे । दोस्रो हाफमा पनि खेलको कथा पहिलो हाफजस्तै रहयो ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा क्यामरुनले अग्रता लियो । कप्तान भिन्सेन्ट अबुबकारले हेडरमार्फत गोल गर्दै क्यामरुनलाई अप्रत्याशित अग्रता दिलाए । उनले जेरोम एनगोमको क्रसमा गरेको हेडर गोलरक्षक एडरसनले बचाउने कुनै अवसर नै पाएनन् । गोल गरेपछि जर्सी खोलेर खुसी मनाएका अबुबकार दोहोरो पहेंलो कार्डसहित रातो कार्ड खाँदै बाहिरीए ।

यस हारका बाबजुद ब्राजिल समूह विजेता बनेको छ । ब्राजिल ३ खेलमा ६ अंक जोड्दै समूहको शीर्षस्थानमा रहयो । स्विटजरल्यान्ड ६ अंकका साथ समूह उपविजेता बन्यो । समान अंक भएपनि गोल अन्तरमा स्विस टोली (+१) भन्दा ब्राजिल (+२) एक गोलले अघि रहयो । क्यामरुनले ४ अंक जोड्दै तेस्रो हुँदा १ अंक जोडेको सर्बिया पुछारमा रहयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर