झापा । किर्तिपुर अस्पतालको आयोजना र स्वास्थ्य कार्यालय झापाको समन्वयमा झापाका ९ स्थानमा २ दिन निःशुल्क प्लाष्टिक सर्जरी छनौट (स्क्रिनिङ्ग) शिविर सञ्चालन हुने भएको छ ।
यही मंसिर २१ गते झापाको दमक –३ स्थित आधारभूत स्वास्थ्य चौकी, गौरादह नगर अस्पताल, कनकाई नगर अस्पताल र सतासीधाम स्वास्थ्य चौकीमा शिविर आयोजना हुने भएको हो । मंसिर २२ गते अर्जुनधारा –३ को शनिश्चरे अस्पताल, मेचीनगर –४ मा रहेको धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र, हल्दीबारी गाउँपालिका गोलधाप स्वास्थ्य चौकी, भद्रपुर नगरको स्वास्थ्य शाखा र झापा गाउँपालिकाको शरणामती स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिने आयोजक प्रतिनिधि कैलाश खाकी श्रेष्ठले बताए ।
शिविरमा ओठ तथा तालु ( मुख भित्र जिब्रो भन्दा माथी ) चिरिएको, आगोले पोलेको ठाउँ, पहिले अप्रेसन गरेर ओठ नमिलेको, गिजामा प्वाल भएको, तालुमा प्वाल भएको तथा पहिले नै अप्रेसन भएकाहरूको पनि निशुल्क अप्रेसन हुने बताइएको छ । त्यस्तै औंला जोडिएको तथा बढी भएका बिरामीहरूलाई निःशुल्क परामर्श प्रदान गरिने आयोजकले जनाएको छ ।
शिविरमा छनौट भएका बिरामीलाई निःशुल्क अप्रेसन लागि विराटनगर स्थित हाम्रो अस्पतालमा लगिने र बिरामी र एकजना कुरुवालाई आवतजावत र खानाको व्यवस्था आयोजकले नै गर्ने जनाइएको छ ।
बिहान ३ बजे देखि दिउसो ३ बजे सम्म सञ्चालन हुने शिविरमा सेवा लिनको लागि सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।