Aamsanchar

किरात याक्थुङ चुम्लुङ र याक्खा छुम्माले विराटनगरमा सँगै उँधौली मनाउने

Author Image
बुधवार, मंसिर २१, २०७९

विराटनगर : किरात धर्मालम्बीहरुको मौलिक पर्व उँधौली (चासोक तङनाम)  विराटनगरमा किरात याक्थुङ चुम्लुङ र याक्खा छुम्माले संयुक्त रुपमा मनाउने भएका छन् ।

किरात याक्थुङ चुम्लुङ विराटनगर महानगर कमिटी र किरात याक्खा छुम्मा महानगरको संयुक्त रुपमा बसेको बैठकले मंसिर २२ गते उँधौलीअन्तर्गत लिम्बूले चासोक तङनाम र याक्खाले चासुवा मनाउने तयारी गरेका हुन्।

विराटनगर-१५ स्थित माङखिम मन्दिर परिसरमा रहेको चुम्लुङ हिम (चुम्लुङको भवन)  मा चासोक तङनाम मनाउने निर्णय भएको किरात याक्थुङ चुम्लुङ विराटनगरका अध्यक्ष कुमार सुब्बाले जानकारी दिए।

बर्खामा रोपेको अन्नबाली हिउँदमा आफ्ना पितृहरूलाई चढाएर मात्रै भित्र्याउने चलन भएका कारण पराम्परागत यो पर्व मनाउँदै आएका छन्।

उँधौलीको दिन याक्खाहरूको डोकेनी नाच प्रदर्शन गर्ने र लिम्बू समुदायले केलाङ नाच, हाक्पारे साम्लो (ख्याली) र धान नाच पनि प्रदर्शन गरिने किरात याख्खा छुम्मा महानगर कमिटीका सचिव प्रेम देवानले जानकारी दिए।

यसैबीच किरात राई यायोक्खा विराटनगरले पनि उँधौलीका अवसरमा साकेला नृत्य प्रस्तुत गर्ने भएको छ।

विराटनगर-११ स्थित साकेलाथानमा राई समुदाय भेला भई साकेलाथानमा पूजापाठ गरी साकेला सिली उँधौली मनाउने तयारी भएको किरात राई यायोक्खाकी नगर अध्यक्ष विष्णु राईले जानकारी दिइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 329

प्रतिक्रिया (०)