Aamsanchar

मेचीनगरका प्रमुख उपप्रमुख सहित ३५ जना तनाव विसर्जन ध्यानमा 

Author Image
शनिवार, मंसिर २४, २०७९

नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले ।

बिर्तामोड। झापाको मेचीनगरमा शनिबारबाट दुईदिने सामूहिक खुला मन सहयोग तालिम शुरु भएको छ ।

मेचीनगर नगरपालिकाको आयोजनामा भएको तालीममा नगरका कार्यपालिका सदस्यसहित कर्मचारी गरि ३५ जना सहभागी छन् ।

सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरूद्धको अभियान भन्ने मुख्यः नारासहित जारी लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा तालीम आयोजना गरिएको नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो ।

सहभागीलाई शक्ति समुहका प्रशिक्षकहरू नर्वदा मगर र सम्झना प्रसाईँले तालीम प्रदान गर्दैहुनुहुन्छ । गैर सरकारी संस्था शक्ति समूह कार्यक्रमको सहआयोजक हो ।

प्रशिक्षक मगरले हरेक व्यक्तिले तनावलाई व्यवस्थापन गर्न सके विभिन्न रोगबाट मुक्ति हुने समेत बताउनुभयो ।  उहाँले तनाव कसरी व्यवस्थापन गर्न सकिन्छ र तनाव व्यवस्थापन स्वयम् आफैले मात्र गर्न सकिने जानकारी दिनुभयो ।  तनाव व्यवस्थापन गर्न कस्ता कस्ता विधि अवलम्बन गर्न सकिन्छ भनेर अभ्यास समेत गरिएको थियो ।

पहिलो दिनको तालीम निक्कै लाभदायक भएको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले प्रतिक्रिया दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाई र सामुदायिक विकास शाखा प्रमुख बरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती ।

प्रशिक्षक मगरका अनुसार खुल्ला मन सहयोग तालीम (पीएम प्लस) मनोवैज्ञानिक असहज अवस्थालाई सहयोग वा उपचार विधि हो । विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेको विधि भएको भन्दै मगरले नेपालको रामेछापबाट शुरु भएर मोरङ झापालगायतका जिल्लामा यो विधि प्रयोगमा आएको बताउनुभयो ।

१८ वर्ष भन्दामाथि उमेर समुहले यो विधि प्रयोग गर्ने उहाँको भनाई छ ।मन र शरीर हलुका गर्ने विधि, समस्या सम्हाल्ने विधि, चल्दै गर गर्दै गर, दुःख बाडे आधा, सुख बाडे दोब्बर लगायतका विधिका बारेमा प्रशिक्षक मगरले प्रशिक्षण प्रदान गर्नुभयो ।

मानिसहरूमा देखिने र नदेखिने दुई प्रकारका समस्या हुने भन्दै प्रशिक्षक मगरले शरणार्थी महिलाहरूमा ‘म्यान्टल हेल्थ’  सम्बन्धी समस्या धेरै देखिएको बताउनुभयो ।

यो समस्या सम्बन्धी पहिलो तालीम पाकिस्तान र केन्यामा शुरू भएको थियो । ग्रुप पिएम सम्बन्धी परीक्षण पाकिस्तान , केन्या र नेपालमा गरिएको थियो ।  पीएम प्लस विश्वव्यापी रूपमा अफ्रिका, एशिया, युरोप र अमेरिकामा कार्यन्वयन गरिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)