बागलुङ : सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ।
काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी महाराजले शुभारम्भ गरे। रामकोटधामका संस्थापक दिवंगत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले विसं २०३१ मा स्थापना गर्नुभएको उक्त गुरुकुल विसं २०५६ मा बन्द भएको थियो।
गुरुकुल नचलेपछि यहाँका विद्यार्थीलाई देवघाटधाममा रहेको गुरुकुल विद्यापीठमा लगिएको थियो। पुनः रामकोटधामबाटै संस्कृत गुरुकुल चलाउने ध्येयले धार्मिक महोत्सव आयोजना गरिएको महोत्सवको प्रमुख संकल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले बताए।
यही मंसिर २८ गतेसम्म चल्ने महोत्सवमा देशभरबाट सन्त, महात्माहरुको उपस्थिति रहने जनाइएको छ। झाँकी प्रदर्शनी, हेलिकप्टरबाट पुष्टवृष्टि, धार्मिकस्थलको दृश्यावलोकन, धार्मिक प्रवचन, वैदिक पूजाअर्चना, भजन कृतन, पञ्चेबाजा प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। महोत्सवबाट संकलित रकम संस्कृत गुरुकुल सञ्चालनमा खर्च गरिनेछ।
‘महोत्सव सुरु हुनुभन्दाअगावै रु ६५ लाख जति जुटिसकेको छ, त्यति नै रकम सहयोगको प्रतिवद्धता आएको छ’, उनले भने। महोत्सवबाट तीन करोड बढी आर्थिक सहयोग जुटाउने लक्ष्य लिइएको छ। गुरुकुल पुनःसञ्चालनको उद्देश्य राखेर महोत्सव आयोजना गरिएकाले देशविदेशमा रहेका दाता र शुभेच्छुकबाट सहयोग आउने क्रम जारी छ।
बिहुँकोट अन्तर्राष्ट्रिय समाजको सञ्जालमार्फत बढी मात्रामा सहयोग जुटिरहेको हो। संस्कृत पाठशाला पुनःसञ्चालन भएमा संस्कृत विद्या र सनानत संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ। परमानन्द सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले राजनीतिक परिवेश प्रतिकुल हुँदा गुरुकुललाई रामकोटधामबाट देवघाट लैजानुपरेको उल्लेख गरे।
‘अब फेरि रामकोटधममा गुरुकुल पुनःप्रतिस्थापन गर्न सकिन्छ की भनेर यो संकल्प लिएका छौँ’, उनले भने, ‘सबैको साथ सहयोगको खाँचो छ।’ आर्थिक स्रोत र संरचनाको जोहो भएमा छिट्टै गुरुकुल सञ्चालनमा आउने उनको भनाइ छ।
गुरुकुल परम्पराका माध्यमबाट संस्कृत विद्यालाई अघि बढाउनुपर्ने ज्ञानानन्द सरस्वतीले बताए। ‘संस्कृतले नै संस्कृतिको व्याख्या गर्छ’, उनले भने, ‘धर्म संस्कृतिको प्रचार, दर्शन शास्त्रसँगै आधुनिक शास्त्रको प्रवद्र्धनमा पनि गुरुकुल शिक्षाले टेवा पुर्याउँछ।’