काठमाडौं । फिफा विश्वकप २०२२ लगायत विश्वमा सञ्चालित हुने खेलहरूमा सट्टेबाजी गराउने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला महोत्तरी, महोत्तरी गाउँपालिका १ घर भई हाल जिल्ला ललितपुर, ललितपुर महानगरपालिका –२ मा बस्तै आएका २० वर्षे आदर्श ठाकुर रहेका छन् ।
वान एक्स विट एप्लिकेशनको एजेन्ट बनेर विभिन्न व्यक्तिहरूलाई सट्टेबाजी मा रकम लगानी गर्न लगाउदै आएका ठाकुरलाई सुराकीको आधारमा हिजो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उक्त कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
ठाकुरलाई मुलुकी अपराध संहिताको दफ १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने असुर अन्तरगत पक्राउ गरेर अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको अधिकृत कोइरालाले बताए ।
प्रतिवादी ठाकुरले विगत ८ महिना देखि गैरकानुनी काम सट्टेबाजी गर्ने एजेन्ट काम गर्दै आएको, कमिसनको लोभमा बिभिन्न व्यक्तिको डिजिटल वलेट खाता खोलेर कारोबार गरेको, वलेटमा संकलन रकम २ करोड २ लाख ८४ हजार ४४८ रुपैयाँ विभिन्न बैंकहरूमा रकमान्तर गरेको र ४८५ वटा वलेट खाता सञ्चालन गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।