डिसेम्बर १८ अर्थात् आप्रवासी दिवस । नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाउन थालिएको हो । यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरूको अधिकार सुनिश्चितता सम्बन्धी कानुनको चर्चा र सरकार तथा राजनीति दलहरूलाई यी विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् । आज कामका लागि बाहिरिन लागेका कामदारहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदा औपचारिक रूपमा गर्ने गरिन्छ भने विभिन्न प्रचारात्मक कार्यक्रमहरू गरिन्छ ।
रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रक्रियालाई सामान्य रूपमा आप्रवासन भनिन्छ । आप्रवासीहरू जुन देशमा पुगेको हो त्यही देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाइँदै आएको छ ।आप्रवासीको हित मानव विकासको फराकिलो दायराभित्रको महत्त्वपूर्ण अंश हो । नेपाली आप्रवासीहरूले आफू र आफ्ना परिवारको उन्नति तथा भलाइका लागि देश बाहिर गई सङ्घर्ष गर्दै आएका छन् । विशेष गरी नेपालीहरूको गन्तव्य खाडी मुलुकहरू र मलेसिया, दक्षिण कोरिया, पूर्वी अमेरिका हो । नेपालीहरू कामकै लागि युरोप सहित विश्वका १९० वटा देश पुग्दै आएका छन् । यस्तो अवस्थामा आप्रवासी नेपाली कामदारहरूले दैनिक रूपमा अनेकौँ समस्याको सामना गर्दै आएका छन् । आप्रवासी कामदारले भित्र्याएको विप्रेषणले उनीहरूको मात्रै होइन पुरै देशकै आयस्रोतमा बढोत्तरी भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ६८ औँ सधारणसभाले विकासका लागि आप्रवासको महत्त्व र सम्पूर्ण आप्रवासीको अधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय आप्रवास र विकासमा उच्चस्तरीय संवादको घोषणा पारित गरिसकेको छ । यसले सहस्राब्दी विकास लक्ष्य पुरा गर्न आप्रवासको योगदानलाई पूर्ण रूपमा स्वीकार गरेको छ भने मानव गतिशीलतालाई दिगो विकासको महत्त्वपूर्ण हिस्साको रूपमा अङ्गीकार गरिएको छ । नेपालमा बर्सेनि आप्रवासी दिवस मनाइए पनि कामदारका समस्या भने उल्लेख्य रूपमा घट्न सकेको छैन । आप्रवासीको हकहितका लागि विश्वभरि आप्रवासी दिवस मनाइए पनि कामदारहरूले रोजगारदाताबाट पारिश्रमिक नपाउने, पाए पनि समयमा नपाउने, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्य अन्यत्रै काम गर्नुपर्ने, पारिवारिक सम्पर्कमा कठिनाइ बनाइदिने र बेचबिखनमा पर्ने जस्ता ठुला मानवीय समस्याहरूबाट गुज्रिँदै आएका छन् ।