सुन्दरहरैंचा नगरपालिका–३ र ५ घर भएका बालिका बलात्कृत भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार यही पुस १ गते शुक्रबार दुवैजना विद्यालय जान भनेर घरबाट हिँडेका थिए । विद्यालय बन्द रहेको थाहा पाएपछि उनीहरु सुन्दरहरैंचाकै गौशालामा भलिबल हेर्न गए ।
भलिबल आयोजनास्थलमा भेटिएका सुन्दरहरैंचा–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैंचा–६ का २१ वर्षीय प्रताप तामाङले ललाइफकाइ होटलमा लगेर दुवैजनालाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले सुन्दरहरैंचा–७ बेलगाछीमा रहेको होटल दरबार इन, रेस्टुरेन्ट एन्ड लजको दोस्रो तलाको अलगअलग कोठामा रातभर राखेर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पढ्नलाई विद्यालय गएका बालिका राति अबेरसम्म घर नफर्किएको जानकारी दिँदै अभिभावकले खोजीका लागि सहयोग गर्न प्रहरीलाई आग्रह गरेका थिए । भोलिपल्ट अर्थात शनिबार मात्रै उनीहरु घर फर्किए । अभिभावक र प्रहरीले सोधीखोजी गर्दा दुवै बालिकाले आफूहरु बलात्कृत भएको जानकारी गराएपछि घटना बाहिर आएको डीएसपी श्रेष्ठले बताए ।उनका अनुसार पीडित बालिकाका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा बलात्कारमा संलग्न दुवै जनालाई पक्राउ गरिएको छ । अभिभावकले इलाका प्रहरी कार्यालय बेलबारीमा आइतबार साँझ जाहेरी दिएका थिए । त्यसलगत्तै खटिएको प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनामा संलग्नलाई उनीहरुकै घरबाट पक्राउ गरेको हो । तिम्सिना र तामाङलाई सहयोग गर्ने सुन्दरहरैंचा–५ का २० वर्षीय बेन्जु चौधरी र सुन्दरहरैंचा–६ का २० वर्षीय पदम कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार चौधरी र कार्की घटनाका मतियार हुन् । उनीहरुले तिम्सिना र तामाङसँग बालिकाको भेट गराउने, होटलको कोठा मिलाइदिने, खानेकुराको व्यवस्था गरिदिने तथा बलात्कारपछि बालिकालाई गर्भनिरोधक औषधि उपलब्ध गराउने काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार बलात्कारको सिकार भएका बालिका स्थानीय विद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत छन् । विराटनगरको कोसी अस्पतालमा उनीहरुको स्वास्थ्य परीक्षण गराउने तयारी प्रहरीको छ । बलात्कारमा संलग्नविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट सोमबार म्याद थप गरेर प्रहरीले घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने भएको छ ।