काठमाडौं : नवगठित तेक्वान्दो महासंघको पहिलो बैठकले ओल्पियन दीपक विष्ट र संगिना वैद्दलाई मासिक भत्ता दिने निर्णय गरेको छ। राष्ट्रिय खेलकुद परिषदले बुधबार गठन गरेको तेक्वान्दो महासंघले बिहीबार पहिलो बैठक बस्दै उक्त निर्णय गरेको हो।
राष्ट्रिय खेलकुद परिषदले यसअघि प्रचलनमा रहेका दुईवटा तेक्वान्दो संघलाई विघटन गर्दै प्रदीप जोशीको अध्यक्षतामा तेक्वान्दो महासंघ गठन गर्ने निर्णय गरेको थियो। महासंघको पहिलो बैठकले ओलम्पियन दिपक विष्ट र संगिना वैद्दलाई ओलम्पिक खेलमा छनोट भएर अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाएको भन्दै सम्मानस्वरूप मासिक ५-५ हजार प्रदान गर्ने निर्णय गरेको हो।
साथै उसले नेपालभर सञ्चालनमा रहेका डोजाङ्ग तथा स्कुलहरुमा प्रशिक्षणरत खेलाडीहरुलाई रातोपेटी सम्मको ग्रेडिङ सम्बन्धित प्रशिक्षकलाई दिने निर्णय समेत गरेको छ।
साथै उसले कैलाली जिल्ला खेलकुद विकास समितिमा कार्यरत सहायक प्रशिक्षक शेरबहादुर सिंह अस्वस्थ रहेको र उनको उपचार दिल्लीमा भइरहेकाले उनको उपचारका लागि आर्थिक सहयोग जुटाउन सम्बन्धित निकायसँग पहल गर्ने निर्णय पनि महासंघले गरेको छ।