Aamsanchar

लोप हुँदै ‘छोरा तिहार’

Author Image
सोमवार, पौष ११, २०७९

सुर्खेत – भाइ तिहार सकिएको ठ्याक्कै दुई महिनामा आइतबार कर्णालीवासीले छोरा तिहार मनाएका छन्। छोरा तिहार प्रत्येक वर्ष पौषशुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पा लगायत जिल्लामा धुमधामका साथ मनाइन्छ।

यो दिनबिहानै आमाछोरा दुवैले नुहाइधुवाइ गरेर छोराहरुले आमाको हातबाट टिका थाप्ने प्रचलन छ। भाइटीका जस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता र गलामा फुलको माला र सगुनको रुपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटी जस्ता परिकार दिने चलन छ।

टिका लगाइसकेपछि आमाले छोरालाई सुख, शान्ति दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिन्छन्। छोराले दक्षिणाको रूपमा पैसा र लुगाफाटो दिन्छन्।

कामविशेषाले बाहिर रहेका छोरा पनि यो पर्वका लागि घर पुग्ने गर्छन्। घर पुग्न नसक्ने छोराले फोनबाट आमासँग आशीर्वाद लिन्छन्। आमाले पनि छोराका लागि  कासेली छुट्याएर राखिदिन्छन्। आमा नहुनेले भने स्थानीय मठ मन्दिरमा गएर पुजारीको हातबाट टिका लगाएर छोरा तिहार मनाउने गर्छन्।

छोरा तिहार डोल्पा लगायत कर्णालीका केही जिल्लामा मात्र मनाइने त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीय दुर्गाप्रसाद देवकोटाले बताए। परापूर्वकालदेखि मनाउँदै आएको यो तिहारको रौनक अहिले पहिलेजस्तो नभएको उनको भनाइ छ।

‘पहिले धेरैजसो मान्छेरु गाउँघरमै हुन्थे र रौनक पनि त्यतिकै हुन्थ्यो’, देवकोटाले भने, ‘अहिले धेरै मानिस शहरबजारमा छन्। कतिपय जागिर र काम विशेषले जिल्ला बाहिर छन्। त्यसैले पनि पहिलाजस्तै रौनक छैन।’

छोरा तिहारमा आमाको हातबाट टिका थापिसकेपछि पुरुषहरु जम्मा भई घर–घर तथा गाँउ बस्तीमा पुगेर भैलो खेल्ने चलन छ। यो देउसी भन्दा फरक ढंगबाट र फरक लयमा खेलिन्छ। महिला पनि सार्वजानिक स्थलमा भेला भएर चुट्किला देउडा खेलेर रमाइलो गर्ने र पीर–व्यथा साटासाट गर्छन्।

भैलो खेलेर मागेको चामल, धान, पैसा जम्मा पारेर वनभोज (स्थानीय भाषामा पाठी भात ) खाने चलन पनि छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)