Aamsanchar

मोरङ : पारिवारिक विवादपछि पत्नी माइतमा, घरमा पति मृत फेला

Author Image
सोमवार, पौष ११, २०७९

विराटनगर : मोरङको केराबारी गाउँपालिका–९ बेलचौरीमा सोमबार दिउँसो एक जना युवक आफ्नै घरभित्र मृत फेला परेका छन्।

काठ र कर्कटपाताको प्रयोग गरेर बनाइएको घरको माथिल्लो तलाको कोठाभित्र ३० वर्षीय राम ऋषिदेव मृत फेला परेका हुन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले सडेर दुर्गन्धित भएको अवस्थामा शव भेटिएको जानकारी दिए। उनका अनुसार घटनाको प्रकृति हेर्दा ३/४ दिनअघि नै मृत्यु भएजस्तो देखिन्छ।

गाउँमा दुर्गन्ध फैलिएसँगै खोजी गर्ने क्रममा स्थानीयले घरभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्। सिरक ओढेको र शरीर सुन्निएको अवस्थामा ऋषिदेवको शव ओछ्यानमा फेला परेको डीएसपी कार्कीले बताए।

घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएर घटनाको अनुसन्धान सुरु गरेको छ।

प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत फेला परेका ऋषिदेव गत बिहीबारदेखि घरमा एक्लै बस्दै आएको खुलेको छ।

पारिवारिक विवादपछि पत्नी (श्रीमती) रेखा ऋषिदेव मोरङको बेलबारी नगरपालिका–१ स्थित माइत गएको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुबीचको विवादका बारेमा खुल्न बाँकी छ। ‘घरमा झगडा परेपछि पत्नी माइततिर गएर बस्न थालेको पाइयो। घरमा पति मात्रै बस्दा रहेछन्,’ डीएसपी कार्कीले भने, ‘अहिले आएर पति घरभित्रै मृत फेला परेका छन्। शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएको छ।’

तर, प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको उनको भनाइ छ। उनले ऋषिदेवको मृत्युको कारण भने खुल्न बाँकी रहेको बताए।

पोस्टमार्टम रिपोर्ट प्राप्त भएर विस्तृतमा अनुसन्धान गरेपछि मृत्युको कारण प्रष्ट हुने कार्कीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर