झापा- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रदेश १ प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलाले आफूहरू प्रदेशसभा र प्रदेश सरकार खारेज गर्न लागिपर्ने बताएका छन् । प्रदेशसभा सदस्यको शपथग्रहणपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै उनले घरभित्रै पसेर घर भत्काउन सकिने भएकाले आफूहरू प्रदेश भत्काउन लाग्ने बताएका हुन् ।

‘हामीले प्रदेशसभा जरुरत छैन भनेका छौं । प्रदेशसभाले नेपाली जनतालाई आर्थिक भारमात्रै थपेको छ । आज विदेशसँग ऋण लिएर प्रदेशसभाका सदस्यहरूलाई तलब भत्ता खुवाउनु परेको छ । यो वाहियात हो,’ उनले भने, ‘केन्द्र सरकारले स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्छ भन्ने हामी प्रमुख रुपमा उठाउँछौँ । भत्ता खाने म पनि पर्छु । तर स्वाभावैले बिगार्न लाग्दा पनि भोको पेट त हुँदैन । घर भत्काउन पनि भोको बसेर भत्काउन सकिँदैन नि त ?’

उनले केन्द्रको राजनीतिमा र प्रदेशमा के गर्ने भन्ने विषयमा दुई दिनपछि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय लिने बताए । ‘अहिले हामीले केन्द्र सरकारलाई समर्थन मात्रै गरेका छौं । सरकारमा जाने नजाने भन्ने निर्णय अहिले भएको छैन । सरकारमा जाँदा के शर्तमा जाने र नजाँदा किन नजाने भन्ने विषयमा पर्सिको बैठकबाटै गर्छौं । प्रदेशको हकमा पनि सोही बैठकमा छलफल चल्छ र प्रदेशमा जाने नजाने भन्ने विषयमा पनि कुरा गर्छौं,’ उनले भने ।
राप्रपा प्रदेशसभा संसदीय दलको बैठक आगामी १५ गते बस्ने उनले जानकारी दिए ।


