Aamsanchar

नयाँ भवनमा बिर्तामोड नगर अस्पताल सञ्चालनको तयारी 

Author Image
मङ्गलवार, पौष १२, २०७९

बिर्तामोड ।  बिर्तामोड नगर अस्पताल नयाँ भवनमा सञ्चालनमा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । अस्पतालको निर्माणधीन भवन यही पौष २० गतेसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेकाले माघ १ गते देखि नयाँ भवनमा १५ बेड क्षमताको अस्पताल सञ्चालनको काम अघि बढिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिनु भयो ।

अस्पताल नयाँ भवनमा सारेसँगै सेवा पनि थप हुनेछन् । यहाँबाट स्वास्थ्य बिमा, दैनिक ओपीडी, उच्चस्तरीय प्रविधियुक्त ल्याब, एक्सरे, भिडियो एक्सरे सेवा, डायलासिस सेवा, २४ सै घण्टा बर्थिङ्ग सेन्टर र इमर्जेन्सी सेवा सञ्चालन गर्ने गरि काम अघि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनु भयो । उहाँले डायलासिस सेवाका लागि रोटरी क्लबको सहयोगमा ६ थान मेसिन समेत प्राप्त भएको जानकारी दिनु भयो ।

नगरपालिकाले कानूनी संरचना तयार पारेर नगर अस्पताल व्यवस्थापन समिति समेत गठन गरिसकेको छ । नगरले यस अस्पतालमा आवश्यक जनशक्तिका लागि केहि दिन अघि विज्ञापन खुलाएको छ । विज्ञापनमा विशेषज्ञ चिकित्सक नवौँ तह १ जना, मेडिकल अधिकृत आठौँ  तह २ जना, ल्याब टेक्नोलजिस्ट सातौँ तह १ जना  र रेडियोग्राफर पाचौँ तह १ जना माग गरिएको छ ।

अस्पतालका लागि आवश्यक उपकरणहरू स्रोतले भ्याएसम्म नगरपालिका आफैँ र सहयोगी हात हरुबाट व्यवस्थापन गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनु भयो । उहाँले यस अस्पताल पूर्णरुपमा सञ्चालनमा आएपछि निजी अस्पताल धाउने दरमा ५० प्रतिशतले कमी आउने बताउनु भयो ।

सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि नियमित अनुगमन र जनताको सन्तुष्टका विषयहरूलाई मापन गरेर यसैको आधारमा अस्पतालको सेवा सुविधालाई वृद्धि गर्दै लैजाने बिर्तामोड नगरपालिकाले जनाएको छ ।

नगर अस्पतालको निर्माणधीन भवनको नगरप्रमुख पवित्रा महतारा प्रसाईँले गत हप्ता अनुगमन गरेर आवश्यक निर्देशन दिनु भएको थियो । भवन निर्माणका लागि धुलिखेल निर्माण सेवा प्रालिले ५ करोड, ५० लाख ७ हजार ७६० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 347

प्रतिक्रिया (०)