Aamsanchar

चालक र सहयोगी राखिएका ५० भन्दा धेरै प्रहरी गृहबाट फिर्ता

Author Image
बिहिवार, पौष १४, २०७९

चालक तथा सहयोगीका रूपमा राखिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५० जनाभन्दा धेरै कर्मचारीलाई गृह मन्त्रालयले बुधबार फिर्ता गरेको छ । सुरक्षाकर्मीको दुरुपयोग रोक्ने अभियानअन्तर्गत प्रहरी फिर्ता गरिएको मन्त्रालयले जनाएको छ ।

गृहमा राखिएकामध्ये धेरैजसो चालक थिए । निजामतीका चालकभन्दा प्रहरीका चालक अनुशासित हुने भएकाले गृहका कर्मचारीले प्रहरी चालक राख्दै आएका थिए । विगतमा पनि यस्ता चालक फिर्ता गराउने प्रयास सफल हुन सकेको थिएन । गृहमन्त्री रवि लामिछानेले सुरक्षाकर्मी दुरुपयोग रोक्न निर्देशन दिएपछि मन्त्रालयमा सुरक्षामा खटिनेबाहेकका प्रहरी फिर्ता भएका हुन् ।

गाडीको सुविधा नै नपाउने गृहका कर्मचारीले पनि चालकसहित यस्तो सुविधा लिँदै आएका छन् । कार्यालय प्रमुखबाहेक सहसचिवसम्मले चालक पाउनेमा मन्त्रालयका सबैजसो उपसचिवले गाडीको सुविधा प्रयोग गर्दै आएका छन् । यसअघि मन्त्रीको सचिवालयमा पनि सुरक्षाकर्मीको दुरुपयोग हुँदै आएको थियो ।

मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई ४८ घन्टाभित्र फिर्ता गर्न निर्देशन दिएको थियो । ‘कार्यविधि पालनाको सुरुवात मन्त्रालयबाटै थालेका हौँ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘सुरक्षा निकायबाट पनि  फर्काउने काम भइरहेको छ ।’ केही प्रहरी परिचरसमेत मन्त्रालयमा राखिएको थियो ।

सोमबार गृहमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले सुरक्षाकर्मी दुरुपयोग रोक्न निर्देशन दिएका थिए । सोहीअनुसार मन्त्रालयले सुरक्षाकर्मी फिर्ता गरेको हो । तर, गाडी र इन्धनको दुरुपयोग भने मन्त्रालयमा कायमै रहेको स्रोत बताउँछ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई फिर्ता गराउन थालेका छन् । ‘विगतमा जस्तो ठूलो संख्या छैन,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘केहीले फर्काउन आनाकानी गरेका छन् ।’

नयाँ पत्रिकामा समाचार छ ।

चालक र सहयोगी राखिएका ५० भन्दा धेरै प्रहरी गृहबाट फिर्ता

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर