
काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारका विषयमा आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् ।
पार्टीको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले सरकारमा रहेका दलहरुले सहयोगको प्रस्ताव नगरेसम्म पर्ख र हेरकै अवस्थामा रहने बताएका हुन् ।‘नयाँ गठबन्धन खिचडीजस्तो छ, त्यहाँभित्र वामपन्थीको नेतृत्व छ, तल खुट्टा टेकेको अर्कैथरि मान्छे छन् । प्रतिगमनकारी, पुनरुत्थानवादी त्यस्तो खालको खुट्टा टेकेको छ’ उनले भने, ‘के नीति, के कार्यक्रम हुने हो थाहा छैन, उसले ल्याइसकेको छैन । त्यसो हुनाले सरकारका विषयमा भनिहाल्ने कुरा केही पनि भएन ।’खनालले अघि भने, ‘जबसम्म उनीहरुले आफ्नो कुरा ल्याउँदैनन्, राख्दैनन्, सार्वजनिक गर्दैनन् त्यतिबेलासम्म हामी पर्ख र हेरकै अवस्थामा रहने स्थायी कमिटीका साथीहरुको धारणा छ ।’गठबन्धनमा रहेका दलले सहयोगको आवश्यकता महसुस गर्छन् कि गर्दैनन् भन्ने मुख्य कुरा रहेको नेता खनालको भनाइ छ ।


