युरोपको सङ्गठित शक्तिका विरुद्ध शानदार सैन्य उपलब्धि प्राप्त गरेका कारण नेपोलियन बोनापार्ट इतिहासमा अमर छन्। उनले युरोपमा कानुन र प्रशासनिक व्यवस्था सुधारमा ठूलो योगदान गरेका थिए ।
नेपोलियनका अन्तिम वर्षहरू सम्झनलायक नै बने, उनले तिरस्कार र बन्धक जीवन व्यतित गर्नुपर्यो तथा मृत्युमा समेत रहस्यको घेरा खिचियो । निर्वासनको अवस्थामै ५१ वर्षको उमेरमा नेपोलियनको निधन भएको थियो ।
सन् १८१५ मा वाटरलुको लडाइँमा पराजित भएपछि नेपोलियनले राज्यसत्ता त्याग गरी बेलायतीहरूका अगाडि आत्मसमर्पण गरेका थिए। नेपोलियनको हत्या गरी सम्भावित शहीद बनाउनुभन्दा त्यतिबेला विश्वको एक निकै एकान्त स्थलमा उनलाई बन्दी बनाएर राख्नु बेलायतीहरूले श्रेयष्कर ठाने। यसकारण नेपोलियनलाई आन्ध्र महासागरको दक्षिणमा रहेको सेन्ट हेलेना टापुमा बन्दी बनाएर राखियो।
यो टापुको लम्बाइ करिब १६ किलोमिटर र चौडाइ आठ किलोमिटर छ। जब पूर्वसम्राटको नजर यस टापुमा परेको होला त्यहाँका चुच्चे चट्टानलाई देखेर उनलाई कहाली लागेको होला। पूर्वमित्र विलियम वालकोम्बीको घरमा सुरुमा दुई महिना आनन्दपूर्वक बिताएपछि नेपोलियनलाई नजिकैको एक जीर्ण घरमा सारिएको थियो।
नेपोलियनका नोकरहरूले त्यस घरमा चिसो, रुघाखोकीको समस्या तथा खराब व्यवस्थाका बारेमा गुनासोसमेत गरेको बताइन्छ। त्यो टापुमा मुसासमेत धेरै थिए। युरोपमा त्यतिबेला पूर्वसम्राट नेपोलियनको त्यस जीवनलाई लिएर मजाकसमेत हुने गरेको थियो। त्यसमा आधारित अनेक खालका कार्टुन पनि बनाइए।
त्यस टापुमा नेपोलियनका दिन खराब हुँदै गए। टापुका नयाँ बेलायती गभर्नर हड्सन लोले नेपोलियन निर्वासनबाट भाग्न नपाऊन् भनी उनको गतिविधिलाई धेरै सीमित बनाइदिए। त्यसअघि नेपोलियनले एल्बाबाट भाग्ने कोसिस गरेका थिए। अब त हड्सनले नेपोलियनको स्याहारसुसार गर्नेहरूको समेत निगरानी गर्न थाले। दिनमा कैयौँ पटक बेलायती अधिकारीहरूले नेपोलियनलाई देख्नुपर्ने नियम हड्सनले बनाए।
अत्यन्त कडा निगरानीमा बन्दी जीवन बिताउनुपर्दा नेपोलियनको स्यास्थ्य बिग्रँदै गयो । पेट दुख्ने, कब्जियत, बान्ता र कमजोरीले उनी आहत हुन थाले। सेन्ट हेलेना ल्याइपुर्याइएको चार वर्षपछि सन् १८२१ मा नेपोलियनलाई आफ्नो अन्त्य आइसकेको महसुस भयो। सन् १८२१ मे ५ मा नेपोलियनले अन्तिम सास लिए।
नेपोलियनको मृत्यु भएलगत्तै उनका चिकित्सक फ्रान्सेस्को एन्टोमार्चीले उनको पोस्टमार्टम गरे। त्यस क्रममा नेपोलियनको मुटु र आन्द्रा निकालेर एउटा सुरक्षित भाँडोमा राखियो। एन्टोमार्चीले नेपोलियनको लिङ्ग पनि काटेका थिए। उनले त्यसो किन गरे कसैलाई थाहा छैन।
नेपोलियनको लिङ्ग सेन्ट हेलेनाबाट उनका पादरीले सुटुक्क लिएर गए। त्यसपछिका धेरै वर्षसम्म नेपोलियनको लिङ्ग विभिन्न समूह र व्यक्तिबीच किनबेच भइरह्यो। अन्ततः सन् १९२७ मा न्युयोर्कको सिटी म्युजियममा फ्रेन्च आर्ट विभागमा त्यसलाई प्रदर्शनीका लागि राखिएको थियो।
तर, नेपोलियनको मृत्युको मूल कारण विवादको विषय बनिरह्यो । नेपोलियनको मृत्युको वास्तविक कारण पत्ता लाग्न सकेको छैन।
एन्टोमार्चीले नेपोलियनको मृत्यु पेटको क्यान्सरले भएको भनेका छन्। सन् १९६१ मा स्विडेनका एक विज्ञले नेपोलियनको मृत्यु आर्सनिकका कारणले भएको दाबी गरेका थिए। बेलायतीहरूले नेपोलियनलाई आर्सनिक मन्द विषले विषाक्त गरेको उनको भनाइ थियो।