Aamsanchar

राजेन्द्र लिङ्देनलाई कांग्रेसबाट प्रधानमन्त्रीको अफर आएको खुलासा !

Author Image
शुक्रवार, पौष २२, २०७९

काठमाडौं : राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको अफर आएको बताएका छन्।

शुक्रबार संसद् भवनमा आयोजित सर्वदलीय बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष प्रधानले कांग्रेसतर्फ संकेत गर्दै आफ्नो पार्टीलाई प्रधानमन्त्रीको अफर आएको बताए।

‘ठूला दलहरूबारे हामीले टिप्पणी गर्न मिलेन। कुन विश्वासले आफ्नो गठबन्धन बिग्रियो भन्ने कुरा जनताले हेरिरहेका छन्। हाम्राे दलका अध्यक्षलाई आएको प्रस्ताव उहाँले क्षणिक आधारमा दल परिवर्तन गर्दा हामीले जुन उद्देश्य लिएका छौँ। त्यो प्राप्ति गर्न त्यो कठिन हुन्छ भन्ने उहाँहरूलाई थाहा छ। अध्यक्षलाई प्रधानमन्त्रीको कुराहरू आएका हुन्। त्यो प्रस्ताव आए पनि हामी पद लोलुप छैनौँ,’ उनले भने।

उपाध्यक्ष प्रधानले आफूहरूले स्थिर सरकार चाहेकाले कांग्रेसको प्रस्ताव स्वीकार नहुने बताए। उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सुझबुझ पूर्ण तरिकाले आएकाले जनताको अपेक्षाविरुद्ध नजाने बताए।

‘हामीले विगतमा अर्को दलको सहयोगमा प्रधानमन्त्री हुने नियति भोगेका छौं। हामी जहाँ छौं सुझबुझअनुसार गएका छौं। हामीले स्थिरता चाहेका छों। हामी पदलोलुप छैनौं।’

उनले अस्थीर चरित्रका कारण राप्रपा ठूलो पार्टी हुन नसकेको बताउँदै सिट संख्या हेरेर दल परिवर्तन नगर्ने बताए।

‘विगतका इतिहासले हाम्रो पार्टी ठूलो बन्न सकेन। हामीले ठूलो पद पाउनेबित्तिकै यता जाने, सिट संख्या धेरै पाउनेबित्तिकै उता जाने गर्दा जनताले स्वीकार गर्दैनन्,’ उपाध्यक्ष प्रधानले भने।तर, यता नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको दाबी गरेका छन्।

साथै उनले अहिलेको आफूहरू पार्टीभित्रै छलफल र आन्तरिक तयारीमा रहेको बताए। लेखकले भने, ‘हामीले कसैलाई पनि प्रधानमन्त्री प्रस्ताव गरेका छैनौँ, हामी पार्टीलाई नयाँ संसदमा एकताबद्ध र सशक्त रुपले कसरी अगाडि लिएर जाने भन्ने आन्तरिक तयारीमा छौँ।’

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर