Aamsanchar

जन्मकैदको फैसला सुनाइएका एक प्रतिवादी २३ वर्षपछि पक्राउ, यतिका वर्ष कहाँ लुके उनी?

Author Image
आइतवार, पौष २४, २०७९

पर्वत : कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका एक प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार चितवनको भरतपुर महानगरपालिका–१२ धनगडा मन्दिरनजिकै नौरंगी टोलमा लुकेर बसिरहेको अवस्थामा फरार रहेका उमेश गिरीलाई कास्की प्रहरीको टोलीले पक्राउ गरेको हो।

के थियो घटना?

विसं २०५६ साल साउन २२ पोखरा महानगरपालिका–३ तेर्सापट्टीमा रहेको ‘ताज पुल’ मा राजेश थकालीको हत्या भएको थियो।

उक्त घटनामा पेले भनिने प्रेमकुमार पुन, खेलेन भनिने दीपक पुन, श्याम भनिने कुमार पुन, आनन्द प्रधान, लक्ष्मीप्रसाद पराजुली, डिके भनिने डिकप्रसाद पुन, योगेश पुन, पाण्डुवा भनिने मोहन गाइने, पुरथ गौचन र उमेश गिरी आरोपित थिए। उनीहरूले छुरी, खुकुरी र फलामको रडले टाउकोलगायत शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले अनुसन्धान गरेको थियो।

घटना अनुसन्धानको क्रममा उमेश गिरीबाहेकका अन्य प्रतिवादीहरू पक्राउ परी अनुसन्धानपश्चात् कास्की जिल्ला अदालतमा पेश गरिएको थियो। उनीहरू पुर्पक्षको लागि थुनामा गएपछि विसं २०५८ साल चैत १ गते फैसला हुँदा प्रतिवादीहरू प्रेमकुमार पुन, आनन्द प्रधान, दीपक पुनलाई सर्वस्वसहित जन्मकैदको फैसला भयो। मोहन गोइने, योगेश पुन, डिकप्रसाद पुन, लक्ष्मीप्रसाद पराजुलीलाई ३ वर्ष कैदको फैसला अदालतले सुनायो।

अहिले पक्राउ परेका गिरी भने मुल्तवीमा परे। त्यो फैसला विसं २०६६ साल साउन २७ गते भएको थियो। पछि उक्त मुद्दामा मिति विसं २०६६ साल फागुन २७ गते फैसला हुँदा गिरीलाई सर्वस्वसहित जन्मकैद ठहर भएको थियो।

यसरी पक्राउ परे उमेश

घटनापश्चात् भागेर वैदेशिक रोजगारीको सिलसिलामा विदेश बसेर केही वर्षअगाडि उनी नेपाल आएको खुलेको छ। नेपालस्थित चितवनको धनगडा मन्दिर आसपासको क्षेत्रमा लुकीछिपी बस्दै आएको भन्ने सूचना प्रहरीले पाएको थियो। उनको बारेमा कास्की प्रहरीले उनलाई विभिन्न तरिकाले गहिरो खोजी गरिरहेको थियो।

उनी त्यहीँ रहेको भन्ने पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले शनिबार अपराह्न साढे ४ बजे उनलाई नियन्त्रणमा लिएको हो। धनगडा मन्दिरनजिक नौरङ्गी टोलमा रहेको सीमा अधिकारीको घरमा कोठा भाडामा लिएर लुकेर बस्दै आएको अवस्थामा उनी फेला परेका हुन्।

प्रहरीको नियन्त्रणमा रहेका गिरीलाई कास्की प्रहरीले आइतबार नै कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा अदालतको आदेशबमोजिम ठेकिएको सर्वस्वसहित जन्मकैद (२५ वर्ष) भुक्तानको लागि कारागार कार्यालय कास्कीको थुनामा पठाएको छ।

यतिका वर्ष कहाँ लुके उनी?

अनुसन्धानको क्रममा प्रहरीसँग बयान दिँदै उनले आफू घटनालगत्तै भागेर वैदेशिक रोजगारीमा गएको बताएका छन्।

घटनामा आफ्नो संलग्नता रहेको र आफूलाई प्रहरीले खोजी गरेको थाहा पाएपछि उनी भागेर काठमाडौँ गएर बसे। त्यहाँ केही समय बसेर वैदेशिक रोजगारीको प्रक्रिया पूरा गरेपछि शुरुमा कतार पुगे। झन्डै १०/१२ वर्ष कतारमा बिताएपछि उनी इराक गई ३ वर्ष बसेको खुलेको छ। त्यसपछि २ वर्ष अफगानिस्तान गएर बसेका उनी करिब ७/८ वर्षअगाडि नेपाल फर्किएको प्रहरीले बताएको छ।

चितवनमा कहिले वर्कसप र कहिले वाइन पसल खोली आफ्नो परिचय दिँदा विप्लव बताउने गरेको पाइएको छ। उनले आफ्ना छिमेकीहरूलाई आफ्ना बुवाआमासहित सबै परिवार नै बेलायतमा रहेको र आफू पनि बेलायत आउजाउ गर्ने गरेको भन्दै आफूलाई लुकाएको पाइएको छ।

आफूले बोलेको झूट साँचो प्रमाणित गर्नका लागि गिरीले करिब ७ महिनाअगाडि बेलायत हिँडेको भनेर भारतमा गएर बसेको पाइएको छ। प्रहरीका अनुसार उनी करिब डेढ महिनाअगाडि मात्रै चितवनमा फर्किएर लुकीछिपी बस्दै आएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)