अष्ट्रेलियामा नेपाली समुदाय सानो छ तर पनि यहा का विभिन्न महत्वपूर्ण क्षेत्रमा महत्व पाउदै गएको छ । क्रिकेटको विश्व नम्बर एक राष्ट्र अष्ट्रेलियाको प्रतिष्ठित क्रिकेट प्रतियोगिता बिबिएल अर्थात विग व्यास लिग क्रिकेट जारी रहेको छ । यही क्रममा एडिलेडमा सोमवार भएको एडिलेड स्ट्राइकर र मेलबर्न रेनेगेटस विचको खेलमा ब्याट फ्लिप गर्ने मौका एडिलेड नेप्लिज क्रिकेट एशोसियसनको तर्फबाट त्यसका अध्यक्ष विजय जोशीले प्राप्त गरेका छन् ।
बहुसांस्कृतिक मुलुक राष्ट्र अष्ट्रेलियाले विभिन्न क्षेत्र सहित क्रिकेटमा समेत समाजको विविधताको प्रतिनिधित्व गराउने प्रयास गर्दै आएको छ । साउथ अस्ट्रेलियन क्रिकेट एशोशियसन (शाखा) को पहलमा बिग व्यासको इतिहासमा नै पहिलो पल्ट बहुसांस्कृतिक समुदायलाई खेल प्रारम्भ हुनु अगाडिको ब्याट फ्लिप गर्ने अवसर दिएको हो ।
अष्ट्रेलियामा नेपाली भन्दा सार्क राष्ट्रकै अन्य देशको समुदाय ठुलो हुदा हुदै पनि नेपालीलाई अवसर दिनु गौरवको विषय भएको एन्का अध्यक्ष विजय जोशीले बताए । जोशी पाल्पाली ढाकाको टोपीमा सयौँ दर्शकहरूले भरिएको स्टेडियमको मैदानमा पुगेका थिए ।
यस अगाडि एन्का अन्तरगत क्रिकेट प्रशिक्षण लिइरहेका बालबालिकाहरूलाई समेत अन्तराष्ट्रिय खेल मैदानमा अभ्यास गर्न दिइएको थियो । जोशीले नेपाली बालबालिकाहरूले अन्तराष्ट्रिय खेल मैदानमा अभ्यासका लागि केहि समय प्राप्त गर्नाले खेलाडीहरूमा उत्साह थपेको समेत बताए ।