कनकाई । झापाको कनकाई नगरपालिका –३, सुरुंगामा प्रदेश १ स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
माघ ३ गते देखि ७ गते सम्म कनकाई मा.वि. को खेल मैदानमा हुने कनकाई भलिबल कप तेस्रो संस्करण प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आज आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।
सुरुंगा जेसीजको आयोजना, कनकाई नगर खेलकुद विकास समितिको सह–आयोजनामा आयोजना हुने प्रतियोगिताका लागि नेपाल बहुउद्देश्य सहकारी मुख्य प्रायोजक, ओसियन एजुकेसन एण्ड भिसा सर्भिस प्रायोजक रहने आयोजक संस्था सुरुंगा जेसीज २०२२ की अध्यक्ष सुष्मा न्यौपानेले बताइन ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो हुनेले ६१ हजार १११ र तेस्रो हुनेले नगद २५ हजार प्राप्त गर्ने भलिबल प्रतियोगिताका संयोजक तथा जेसीज महासचिव राजु पाठकले बताए ।
प्रदेश १ भित्र रहेका राष्ट्रिय खेलाडी तथा क्लव हरुले अन्तर्राष्ट्रिय खेलाडीहरूलाई पनि प्रतियोगितामा सहभागी गराउने भएकाले यस पटकको प्रतियोगिता विगतको भन्दा भव्य रहने भन्दै पाठकले खुसी व्यक्त गरेका छन् ।
प्रतियोगिताका लागि प्रथम पुरस्कार विकाश प्रसाईँ र अनु प्रसाईँले प्रायोजन गर्ने भएका छन् । दोस्रो पुरस्कार स्थानीय वीरेन्द्र मैनालीले उपलब्ध गराउने र तेस्रो पुरस्कारको प्रायोजक आईएमई लाइफ इन्सुरेन्स रहेको छ ।
माघ ३ गते उद्घाटन खेल दमक र भद्रपुर बिच हुने भएको छ । खेल तालिका अनुसार ४ गते झापा गाउँपालिका र बेलबारी नगरपालिका, ५ गते शिवसताक्षी र गौरादह सोही दिन चुलाचुली र बुद्धशान्ति बिच प्रतिष्पर्दा हुने र ७ गते फाइनल खेल हुने छ ।
प्रतियोगितामा विभिन्न विधामा खेलाडीहरू पुरस्कृत हुनेछन । वेस्ट लाइनर, वेस्ट व्लकर, वेस्ट डिफेन्डरलाई जनही ५ हजार नगद प्रदान गरिने बताइएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा कनकाई नगर खेलकुद विकास समितिका संयोजक जविन तिम्सिना, जेसीज पूर्व अध्यक्षहरु कुमारमणी पोखरेल, शिवकुमार कडेल, कमल कट्टेल, कार्यकारी उपाध्यक्ष दीपेन्द्र प्रधान, सुरुंगा जेसीज खेलकुद संयोजक प्रतावबाबु जमरकट्टेललगायतको उपस्थिति रहेको थियो ।