Aamsanchar

नेपालमा ल्होसार मनाउने प्रचलन, आज सोनाम ल्होसार

Author Image
शनिवार, माघ ७, २०७९

नेपालमा ल्होसार मनाउने प्रचलन
नेपालमा ल्होसार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई विभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समुदायले चिनियाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलाई ‘चन्द्र पात्रो’ भनिन्छ । बौद्ध धर्म अनुसार तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङहरूका अलावा ल्होसार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् ।

३ प्रकारका ल्होसारहरू
गुरुङले मनाउने ल्होसारलाई तोला ल्होसार, तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होसार, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होसारलाई ग्याल्पो ल्होसार भनिन्छ ।

विश्वव्यापी मनाइने सोनाम ल्होसार
सोनाम ल्होसार पर्व तामाङ जातीहरू पुगेका नेपाल सहितका अन्य मुलुकहरू सिङ्घापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइँदै आएको छ । आजको दिन यी देशहरूका अधिकांश वौद्धविहारहरु रङ्गिन र उल्लासमय हुन्छन्, रङ्गिन सजावटका ध्वजा पताका अनि पुष्पद्वारलगायत अन्य मनमोहक सजावटले आज वौद्धविहार बडो गज्जब देखिन्छ । मुख्यतया डाँडाकाँडामा भएका नेपाली वौद्धविहारहरुमा गरिएको यस्तो सजावटले परैबाट आँखा तान्दछ, असीम आनन्दको अनुभूति हुन्छ ।

आज माघ शुक्ल प्रतिपदा भएकाले यस संवत् अनुरूप भने सोनाम ल्होसार हो, संवतले जेसुकै भनोस् शुभकामना अनि रौनकको यस ल्होसारको महिनाभरि नै सबैलाई स्वागत छ ।

सोनाम ल्होसारका अवसरमा घर बस्तीहरू सफा गरी बुद्धका चित्रहरू अङ्कित ध्वजापताकाहरू टाँगेर बुद्धको पूजा अर्चना गरिन्छ । कतिपय ठाउँमा जात अनुसारका गाउँका लामा र मुखियाको उपस्थितमा सबै जना एकै ठाउँमा भेला भई नाचगान रमाइलो पनि गरिन्छ । यसरी गाइने अनि नाचिने गीतहरूलाई ुतामाङ सेलोु भनिन्छ, सुस्तरी तर बडो मधुर रूपमा गाइने यस्ता सेलोहरूमा डाँडा पाखा, कन्दरा अनि दैनिक जीवन भोगाई लगायत माया प्रेमका भावनाहरू पनि समावेश हुन्छ । डम्फु चाहिँ यस समुदायको हस्ताक्षर बाजा हो । डम्फु अनि सेलोको सुमधुर मिश्रण मनमोहक हुन्छ । धेरैजसो यस्ता सामुदायिक कार्यक्रमहरू खुला आकाशमुनि गरिन्छ, परम्परागत पहिरनमा सजिएका तामाङ समुदायका व्यक्तिहरू लगायत अन्य सबै समुदाय अनि सबै धर्मका व्यक्तिहरूलाई यस समुदायले खुल्ला हृदयले स्वागत गर्दछन् ।

नकारात्मक तत्त्वहरूलाई हटाउन कालागि, आशा जगाउने सकारात्मक तत्त्वहरू अनि शक्तिहरूलाई डाँक्न कालागि आज विभिन्न तान्त्रिक विधि अनि मुखौटा लगाएर नृत्य पनि गरिन्छ ।

लामाहरूसँग आशिष् लिएर आजको दिन वर्षभरिकालागि शुभ साइतको अपेक्षा राखिन्छ, काठमाण्डौमा भने आजको दिन टुँडिखेलबाट र्‍याली निकालिन्छ । यसरी विभिन्न कार्यक्रम लगायत मेलाहरू आयोजना गरिँदै अनि शुभकामनाहरू आदान प्रदान गर्दै तामाङ समुदायले सैयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौँ पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन् । सुँगुर, हाँस, कुखुरा, खसी लगायतका विभिन्न परिकारका मासुहरू तैयार पारिने यस विशेष उत्सवमा विभिन्न गुलिया मिठाईहरू बनाएर आजको दिन घरघरमा भोज गर्ने अनि आफन्त भेट्ने चलन रहेको छ । सामुदायिक रूपमा पनि समुदायका सबै जना एकैठाँउमा भेला भएर चाडबाड मनाउने अनि सरल अनि सभ्य रूपमा मिलनसार प्रवृत्तिको संस्कार अनि सन्देश दिने तामाङ समुदायहरू वास्तवमै एउटा अनुकरणीय समुदाय हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)