Aamsanchar

आज हलो र गोरुको पूजा गरिँदै

Author Image
बिहिवार, माघ १२, २०७९

जलेश्वर : वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दैछन्। ​मिथिलाञ्चलमा यो दिन कृषि कार्यको सुरुआत गर्ने दिन मान्दै बिहानै हलो र गोरुको पूजा गर्ने चलन छ।

जलेश्वर नगरपालिका–८ का रामबाबु चौधरीका अनुसार आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूल माला, अक्षेता, अबिर, चामल, लड्डुलगायत वस्तुसहित आँगनमा हलो राखेर पूजाआजा गर्छन्। गोरुलाई नुहाई नयाँ रंगीचंगी डोरी र माला लगाएर पूजा गरिन्छ।

हलो र गोरुको पूजा गरिसकेपछि खेत जोत्ने चलन छ। किसानले नयाँ किनेको गोरुलाई पहिलोपटक खेत जोत्न लगाउने चलन रहेको जलेश्वर–६ का गणेश साहले बताए। किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितका कृषि औजारलाई नयाँ धार लगाएर प्रयोग गर्छन्।

श्रीपञ्चमी वा वसन्त पञ्चमीको अवसरमा किसानले अरवा चामलमा सख्खर मिसाएर प्रसाद तयार पार्छन्। हलो र गोरुको पूजा गरेर एकापसमा अबिर दलेर तथा प्रसाद वितरण गरेर यो पूजा सम्पन्न हुन्छ।

मिथिलाञ्चलका किसान आजका दिनदेखि खेतीपाती सुरु भएको मान्छन्। आजैका दिनदेखि आ–आफ्नो बाँझो खेतबारी जोत्ने काम आरम्भ गर्छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर