Aamsanchar

सर्पपालनका लागि खरिद गरिएको १० बिघा जमिन उपयोगविहीन, १९ करोड खर्च भने भैसक्याे

Author Image
मङ्गलवार, माघ १७, २०७९

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका–१ मा सर्पपालनका लागि खरिद गरिएको करिब १० बिघा जमिन यतिबेला चरन क्षेत्र बनेको छ । सर्पपालनका लागि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको जमिन यतिबेला उपयोगविहीन बनेकाे हाे ।

नेकपा (एमाले) का तत्कालीन अध्यक्ष झलनाथ खनालले २०७० सालको दोस्रो संविधानसभा चुनावमा सर्लाही क्षेत्र नं १ बाट चुनाव लड्दा चुनावी प्रचारका क्रममा यहाँ सर्पपालनको प्रतिबद्धता जनाउनुभएको थियो । लालबन्दी नगरपालिका–१७ मा रहेकाे रानीगञ्जमा सर्पदंशबाट एक बालकको ज्यान गएपछि खनालले त्यही समयमा प्रतिष्ठान स्थापना गर्ने घोषणा गर्नुभएको थियो ।

सर्पको टोकाइबाट घाइते बालकले समयमै भ्याक्सिन नपाउँदा ज्यान गएको थियो । त्यसैले नेपालमै पहिलो पटक एन्टिस्नेक भेनम (एएसभी) उत्पादन गर्न पहल सुरु गर्नका लागि प्रतिष्ठान स्थापना गरी सर्पपालन सुरु गर्ने घोषणा गरिएको थियो ।

एन्टिस्नेक भेनम उत्पादन आफैँमा महत्त्वपूर्ण भए पनि आफ्नै नाममा प्रतिष्ठान स्थापना गरेकाे भन्दै खनालको आलोचना पनि भयो । त्यसपछिका प्रतिष्ठानका काम पनि विवादमा तानिन थालेपछि करिब १९ करोड  रुपैयाँ खर्च हुँदा पनि यसले मूर्तरुप लिन सकेको छैन । यति ठूलो रकम खर्च भइसक्दा पनि सर्पपालन कहिलेदेखि सुरु हुन्छ भन्ने यकिन छैन ।

विवाद बढ्दै गएपछि गएकाे साउनमा संस्थाको नाम परिवर्तन गरी राष्ट्रिय स्वास्थ्य विज्ञान एवम् अनुसन्धान परिषद् बनाइएको परिषद्का अध्यक्ष रेवती पन्तले बताउनुभयो । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा प्रतिष्ठानलाई ७२ करोड रुपैयाँ दिने सम्झौता भएको थियो । त्यसपछि सबै रकम नेता खनालले लिए जस्तो गरी प्रचारप्रसार भएको थियो । ‘यथार्थ के हो भन्ने विषयमा धेरै मानिस प्रवेश नै गरेनन्, राम्रो कामका लागि खोलिएका संस्था भए पनि बदनामी धेरै भयो’, अध्यक्ष पन्तले भन्नुभयो, ‘अफवाह फैलिएपछि संस्थाको नाम परिवर्तन गर्नुपर्‍यो ।’

व्यक्तिका नाममा संस्था खोलिएपछि सर्वसाधारणको विरोधसँगै गर्न दातृ निकायले पनि नरुचाएको उहाँको भनाइ छ । उहाँका अनुसार अस्पताल निर्माणपछि थाइल्यान्डबाट मेडिकल उपकरण निःशुल्क रूपमा प्राप्त हुने सहमति भएको छ ।

‘भारतको सेरम इन्स्टिच्युटले भेनम बनाइदिने समझदारी भएको छ भने सर्प पालनका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा सहयोग गर्न विभिन्न निकायले प्रतिबद्धता जनाएको उहाँको भनाइ छ । तर संस्था स्थापना भएको आठ वर्ष बितिसक्दा पनि विभिन्न कारणले न्यूनतम संरचना समेत निर्माण हुन सकेको अवस्था छैन ।

अहिलेसम्म सरकारबाट प्राप्त भएको रकम डीपीआर, जग्गा खरिद, अध्ययन अनुसन्धानमा खर्च भएको अध्यक्ष पन्तको भनाइ छ । लालबन्दी नगरपालिका– १ मा सात करोड रुपैयाँ खर्चेर परिषद्ले जग्गा खरिद गरेको छ । नन्देश्वर महादेव सामुदायिक वन क्षेत्र नजिकै खरिद गरिएको करिब १० बिघा जमिन अहिले चरन क्षेत्रमा परिणत भएको छ ।

‘कार्यालय र भेनम उत्पादनका लागि चाहिने जग्गा र संरचना बनाउनुपर्ने भएकाले करिब १० बिघा जमिनसहित १० कट्ठा ऐलानी जग्गा लिएका छौँ’, अध्यक्ष पन्तले भन्नुभयो, ‘जग्गामा कम्पाउन्ड वाल निर्माणका लागि पिल्लर ठड्याइए पनि त्यो अपूरो छ  ।’

कुल २२ वटा भवन बनाउने योजना भए पनि चार वटा भवन निर्माण गर्न ३४ करोड रुपैयाँमा ठेक्का लगाइएको छ तर भवनको जगसमेत खनिएको छैन । शर्मा एन्ड धुलिखेल जेभीले निर्माणको ठेक्का पाएको थियो । ‘कम्पाउन्ड वाल निर्माण तथा अन्य काममा छ करोड रुपैयाँ खर्च भएको भन्दै भुक्तानीका लागि बिल आएको थियो तर सन्तोषजनक काम नदेखिएपछि हामीले रोकेका छौँ’, उहाँले भन्नुभयो । परिषद्ले अस्पताल, प्रयोगशाला, प्रशासनिक भवन र सर्प पाल्न भवन निर्माणको लक्ष्य राखेको छ । एन्टिभेनम उत्पादन, परीक्षण र अध्ययन गर्ने केन्द्र यही क्षेत्रभित्र बनाउने भनिएको छ । तर, बजेट अभावले काम अघि बढ्न नसकेको उहाँको भनाइ छ ।

प्रतिष्ठानको गुरुयोजनामा साढे तीन अर्बको लागतमा नेपालमै एन्टिभेनम उत्पादन सम्भव हुने उल्लेख छ । केपी शर्मा ओली नेतृत्वको सरकारले ७२ करोड रुपैयाँ दिने घोषणा हुँदा केन्द्र सरकारले ४० प्रतिशत र प्रदेश सरकारले ६० प्रतिशत बजेट बेहोर्ने भनिएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा केन्द्रले छ करोड रुपैयाँ बजेट पठाएको थियो । प्रदेश सरकारले यस रकममा ६० प्रतिशत थप गरेर पठाइदिनुपर्नेमा अहिलेसम्म प्राप्त भएको छैन । स्थानीय सरकारले समेत वार्षिक  एक करोड रुपैयाँ दिने सम्झौता भए पनि लालबन्दी नगरपालिकाले सम्झौता अनुसारको पाँच करोड रुपैयाँ भुक्तानी भएको छैन । परिषदमा अहिले चार जना कर्मचारी छन् । उनीहरुको तलबमा मासिक डेढ लाख रुपैयाँ खर्च हुन्छ । कार्यालयको भाडा मासिक ५० हजार रुपैयाँ छ । नेपालमा सर्पको टोकाइबाट वार्षिक तीन हजार मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ ।

परिषद्का कार्यक्रम संयोजक उमेश बराल भने अब आफूहरु सर्प पाल्नका लागि दुई वटा विकल्पमा जाने बताउनुभयो । भवन निर्माण गरी सर्प उत्पादन गर्ने र जङ्गलबाट सर्प ल्याएर क्वरेन्टिनमा राखेर विष निकाल्ने विकल्पबारे योजना बनाइएको उहाँको भनाइ छ ।

‘विभिन्न प्रजातिका सर्प ल्याएर यहीँं उत्पादन योजना छ । यसका लागि एक सयभन्दा बढी सर्प आवश्यक पर्छ’, उहाँले भन्नुभयो, ‘उच्च सुरक्षासहितको भवन बनाएर बाहिरकै तापक्रममा राखेर विष निकाल्न सकिन्छ।’ बाहिरबाट ल्याइएका सर्पलाई केही दिन क्वरेन्टिनमा राखेर स्वास्थ्य परीक्षण गरेपश्चात् विष निकालेर पुनः प्राकृतिक अवस्थामा छाड्न सकिने उहाँको भनाइ छ ।

‘सर्प पालनका लागि धेरै प्राविधिक काम गर्नुपर्ने भएकाले चुनौती छ’, उहाँले भन्नुभयो, ‘तर अहिले नै नेपालमै एन्टिभेनम उत्पादन सम्भव छैन । हामीसँग ल्याब पनि छैन ।’ उहाँका अनुसार पहिलो चरणमा विष निकालेर भारतको सेरम इन्स्टिच्युटमा परीक्षण गराइ एएसभी बनाउने योजना छ । त्यसका लागि घोडा पाल्नु पर्दैन । सर्पबाट विष निकालेपछि निश्चित मात्रा घोडालाई दिइन्छ । विष निष्क्रिय पार्ने क्रममा घोडाले एन्टिबडी निकाल्छ र त्यही एन्टिबडी रगतबाट सङ्कलन गरिन्छ । त्यसरी सङ्कलित रगतलाई प्रशोधन गरेर एएसभी बनाइने बरालको भनाइ छ । साथै दोस्रो चरणमा भेन प्रयोगशाला निर्माण गर्ने र घोडापालन गर्न सकिने उहाँको भनाइ छ ।

विज्ञकै परामर्शमा सर्पपाल्नका लागि चाहिने भूगोल र वातावरण सुहाउँदो जग्गा खरिद गर्ने अध्यक्ष पन्तको भनाइ छ । उहाँका अनुसार सर्लाही, झापा, महोत्तरी, चितवन, नवलपरासी, बाँकेलगायतका जिल्ला वातावरणीय हिसाबले सर्पपालन उपयुक्त स्थान मानिन्छन् ।

नेपालमा भेनम उत्पादन गर्ने सवालमा स्पष्ट नीति नभएको उहाँको छ । भारत सरकारले सन् २०१२ देखि एएसभी निर्यातमा रोक लगाए पनि विश्व स्वास्थ्य संगठनको विशेष पहलमा नेपाल ल्याउने गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर