Aamsanchar

मोरङका स्थानीय तहहरुले योजना तर्जुमा प्रकृयालाई समावेशी बनाउने

Author Image
शनिवार, माघ २८, २०७९

विराटनगर । मोरङका स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले योजना तर्जुमा प्रकृयालाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ मोरङले बेलबारीमा आज गरेको स्थानीय तहको योजना प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा ५ वटा स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले सो प्रतिबद्धता व्यक्त गरेका हुन । स्थानीय तहका जनप्रतिनिधिहरुले योजना तर्जुमा प्रक्रिया समावेशी बनाईने गरेतापनि सञ्चार क्षेत्रको खवरदारी आवस्यक रहेको बताएका छन् । कार्यक्रममा सहभागी बेलबारी नगरपालिकाका प्रमुख डिपी राई, रंगेली नगरपालिका प्रमुख दिलिप अग्रवाल, सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाई, ग्रामथान गाउँपालिका उपप्रमुख गुणावतीदेवी धामी र कानेपोखरी गाउँपालिका उपप्रमुख भोला अधिकारीले आगामी आर्थिक वर्षको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउनका लागि योजनाबद्धरुपमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँहरुले आ–आफ्नो पालिकाले गरेका राम्रा कामहरुको पनि विवरणहरु प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले सञ्चार क्षेत्रले पनि योजना प्रक्रिया समावेशी बनाउनका लागि समाचार प्रकाशन तथा प्रसारणका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, मोरङ अध्यक्ष संजीव खनालले स्थानीय तहको योजना निर्माण प्रकृयालाई समावेशी बनाउनका लागि सञ्चार क्षेत्रले बहस, छलफल र समाचारहरु प्रकाशन तथा प्रसारण गरेर विषयहरु उठाउन सहयोग गर्ने बताउनुभयो । उहाँहरुले पत्रकार महासंघले गरेको छलफलले स्थानीय तहहरुको योजना निर्माणलाई सहयोग पुग्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टले प्रस्तुत गरेको ‘स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउन संचार क्षेत्रको भूमिका’ विषयक कार्यपत्रमाथि छलफल गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य भक्तशेर लिम्वु, प्रेस युनियन मोरङका अध्यक्ष भोजराज वस्नेत, प्रेस चौतारी मोरङका उपाध्यक्ष सन्तोष राई, प्रेस मञ्च मोरङका अध्यक्ष मुकेश यादव लगायत तीन दर्जन बढी सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)