अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिको १२ औं नगर सभा उद्घाटन भएको छ । आज (आईतबार) नगरपालिका कार्यालयको सभाहलमा नगर सभा उद्घाटन भएको हो ।
नगर प्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षतामा आयोजित सभामा यस आर्थिक वर्षको ६ महिनामा भित्र भएको कार्यक्रम, आयोजना र क्रियाकलावहरु बैठकमा प्रस्तुत गरिएको छ ।
चालु आर्थिक वर्ष को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तरगत साझेदारीमा १ करोड विनियोजन, नगरपालिको श्रोत थप गरी उक्त रकम मध्ये ९५ लाख साझेदारी कोषमा थप गरिएको बताईएको छ ।
मौजात रकम मध्येबाट सबै वडाहरुमा पेवर्स सहितको सडक निर्माण गर्न २ करोड ८५ लाख बजेट तोकिएको थियो तर योजनाको लागत अनुमान ४ करोड ९५ लाख लाग्ने देखिएको भन्दै श्रोत अपुग का कारण आगामी आर्थिक वर्षको बजेटबाट भुक्तानी हुने गरी नगरपालिकाले योजना छनौट गरेको छ ।
नगरको संशोधित अनुमानित वार्षिक आय ९५ करोड ६३ लाख ३३ हजार १२४ रहेको छ । चालु आर्थिक बर्ष पुस मसान्तसम्ममा भौतिक पूर्वाधारतर्फ ५ सय ९० योजना मध्ये १ सय ५० योजना सम्पन्न भएका छन् । त्यस्तै अन्य योजनाहरु कार्यन्वयनको चरणमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
नगरको प्रतिवेदन उपप्रमुख खड्गमाया पराजुलीले प्रस्तुत गरेकी थिइन । कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष हरिसचन्द्र बास्तोला र वडा नं. १० का वडाध्यक्ष भुपेन्द्र न्यौपानेले संशोधन प्रस्थाव राखेका थिए ।
कार्यक्रममा नगरकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, नगरका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, नगरका कर्मचारीलगायतको उपस्थिति रहेको थियो । नगरसभा को अर्को बैठक फागुन ३ गते हुने गरि स्थगित गरिएको छ । नगर सभा करिव ३० मिनेट मात्र चलेको थियो ।