Aamsanchar

लोसपा नेताद्वारा महन्थलाई राष्ट्रपति बनाउन देउवासित आग्रह

Author Image
बुधवार, फागुन १०, २०७९

काठमाडौं –लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय सहमतिका आधारमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई नयाँ राष्ट्रपतिमा चयन गर्न नेपाली कांग्रेससमक्ष आग्रह गरेको छ । बुधबार काठमाडौंमा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूसँग लोसपाका नेताहरूले राष्ट्रपतिमा ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएको अवस्थामा ठाकुरलाई राष्ट्रपति बनाउन प्रस्ताव गरिएको लोसपाका नेता शरतसिंह भण्डारीले जानकारी दिए ।

मुलुकको परिस्थितिलाई विचार गरेर राष्ट्रपति सहमतिका आधारमा बनाउनुपर्ने र उचित पात्र ठाकुर भएको उनको भनाइ छ । सो छलफलका क्रममा सभापति देउवाले सहमतिका लागि ठाकुर उपयुक्त पात्र भए पनि राष्ट्रपतिका विषयमा कांग्रेसभित्र निर्णायक छलफल नभएको बताएको भण्डारीले जानकारी दिए ।

लोसपा नेताले यसअघि प्रधानमन्त्री प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलगायत नेताहरूसँग भेटेर राष्ट्रपतिमा ठाकुरलाई सर्वसम्मत गर्न आग्रह गरेका थिए । राष्ट्रपति पदको निर्वाचनका लागि यही फागुन १३ गते उमेदवारी दर्ता गर्ने कार्यतालिका छ । त्यसका लागि नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

 

Views: 110

प्रतिक्रिया (०)