बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले यस बर्ष पनि उत्कृष्ट नारी सम्मान कार्यक्रम गर्ने भएको छ । उत्कृष्ट नारी सम्मान कार्यक्रम लेडी जेसीज पूर्व अध्यक्ष समाजको सक्रियतामा आयोजना हुने भएको हो ।
आगामी फागुन १८ गते नारी दिवसको अवसरमा उत्कृष्ट नारी सम्मान कार्यक्रम गर्न लागिएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताइएको छ ।
झापामा जन्मिएर विभिन्न क्षेत्रमा अब्बल रुपमा काम गरेका, गर्दै आएका, सम्बन्धित कार्यका उत्कृष्ट कार्यसम्पादन गर्ने महिलाहरूलाई वीरता लेडी जेसीजले हरेक वर्ष सम्मान गर्ने कार्यक्रम अनुसार यस वर्ष एक झापाली चेली, प्रथम झापाली पाइलटलाई सम्मान गर्ने निर्णय भएको वीरता जेसीज उत्कृष्ट नारी सम्मान कार्यक्रमकी संयोजक पूर्व अध्यक्ष राधा सुब्बाले बताइन ।
जेसीजको चलन अनुसार सम्मानित व्यक्तिको नाम सम्मान कार्यक्रममै घोषणा गरिने भएकाले हाल नामलाई गोप्य राखिएको छनौट समितिकी संयोजक लिला अनमोलले बताइन ।
वीरता लेडी जेसीजले सन २०२१ देखि वृहत रुपमा उत्कृष्ट नारी सम्मान कार्यक्रमको थालनी गरेको हो । यस अघि सन् २०२१ मा समाजसेवी, राजनीतिज्ञ गिरीराजकुमारी प्रसाईँ, २०२२ मा शिक्षा विधामा झापाको पहिलो महिला प्रधानाध्यापक प्रभा घिमिरेलाई सम्मान गरिएको थियो ।
सामाजिक, राजनीतिक, व्यापार–व्यवसाय, उद्यमी, प्राविधिक, स्वास्थ्य, शिक्षा, खेलकुद, सांगीतिक, कला, साहित्य, प्रशासनिकलगायत क्षेत्रमा आवद्ध महिलाहरूलाई वीरता लेडी जेसीजले सम्मान गर्दै आएको र सोही विधाहरु मध्ये यस वर्ष प्राविधिक विधाकी उत्कृष्ट नारीलाई सम्मान गरिने वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले जानकारी दिइएकी छन् ।
अनोमल संयोजक रहेको छनौट समिति सदस्यहरूमा वीरता जेसीजका पूर्व अध्यक्ष शेखर ढकाल र गायत्रा उप्रेती सदस्य रहेका छन् ।
पूर्व अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा औचित्यमाथि प्रकाश निवर्तमान अध्यक्ष स्वस्तिका आचार्य, स्वागत अध्यक्ष संगीता गिरी, सञ्चालन निवर्तमान अध्यक्ष संगीता चिमरियाले गरेकी थिइन ।
सम्मान कार्यक्रममा प्रमुख अतिथि झापाली चेली उपसभामुख इन्दिरा राना मगर रहने बताइएको छ ।