कनकाई । झापाको कनकाई–३ मा आयोजित महिला फुटबल प्रतियोगितामा आयोजक कनकाई महिला फुटबल टिमले विजयी हासिल गरेको छ ।
आज अन्तर्राष्ट्रिय नारी दिवसको दिन कनकाई माविको खेल मैदानमा आयोजित फुटबल प्रतियोगितामा कनकाई महिला फुटबल टिमले अर्जुनधाराको जुनतारा महिला फुटबल टिमलाई ३–० गोल अन्तरले कनकाई महिला फुटबल टिम विजयी बनेको हो ।
आयोजक टिमका जर्सी नंं ११ की खेलाडी अनिता लम्जेलले २ गोल र जर्सी नं. १९ की सहारा दाहालले १ गरेका थिए । खेलमा उइमेन अफ द म्याच अनिता लम्जेल घोषित भइन । सर्वाधिक गोलकर्ता लक्ष्मी श्रेष्ठ, प्लेयर अफ द टुर्नामेन्ट खुस्मा राई, उत्कृष्ट गोलकिपर रञ्जु राजवंशीले जनही ३ हजार प्राप्त गरेका छन् ।
प्रतियोगितामा विजयी टिमले नगद ७५ हजार र उपविजेताले ५० हजार नगद प्राप्त गरेका छन् । टिम तथा खेलाडीहरूलाई प्रमुख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगर, कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, समाजसेवी शेरबहादुर थापालगायतले नगद पुरस्कार, ट्रफी र मेडल हस्तान्तरण गरेका थिए ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगर खेलकुद विकास समितिको सह–आयोजना साथै कनकाई नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा झापाका विभिन्न पालिकाका ८ महिला टिमहरूको सहभागिता रहेको थियो ।