

काठमाण्डाै – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नै वाचा बिर्सेर सडक खाली गराएर आज पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । उहाँ बिहान दर्शन तथा पूजाका लागि पशुपतिनाथ पुग्दा र त्यहाँबाट वीपीको शालिकमा माल्यार्पण गर्न सुन्दरीजल जाने क्रममा सडकको बायाँ लेन खाली गरिएको थियो ।

सडक खाली गर्दै ट्राफिक प्रहरीले रोकेपछि जाममा फसेका नागरिकले असन्तुष्टि जनाएका छन् । नवनिर्वाचित राष्ट्रपति पौडेल बिहान ९ बजेतिर दर्शनका लागि पशुपतिनाथ पुग्नुभएको थियो । उहाँले त्यहाँ झण्डै डेढ घण्टा पूजा गर्नुभयो । पशुपतिको दर्शनपछि साढे १० बजेतिर सुन्दरीजल जानुभयो । त्यहाँ उहाँले वीपी कोइरालाको शालिकमा माल्यार्पण गर्नुभयो ।
पौडेलको सवारीका लागि बायाँ लेन खाली गराएपछि सडकमा ट्राफिक जाम भएको थियो । राष्ट्रपतिको चुनाव हुँदै गर्दा हिजो उहाँले राष्ट्रपतिमा निर्वाचित भए आफूले नागरिकलाई सास्ती हुने गरी ट्राफिक जाम हुन नदिने वाचा गर्नुभएको थियो ।


