

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका –८ पाखाटोल स्थित घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । हिजो बेलुका सवा ५ बजे स्थानीय राम बहादुर मगरको ढुंगा माटोले बनेको दुईतले घरमा बिधुत सर्ट भई आगलागी हुँदा उनको ६ वर्षीया छोरी जस्मिन मगर र २ वर्षीया छोरा रोजन मगरको जलेर मृत्यु भएको हो ।

घरमा आगलागी भएको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय रौतामाई बाट खटिएको प्रहरी टोली र स्थानीय बासीको सहयोगमा आगो ६ बजे नियन्त्रण गरिएको र अभिभावक नभएको अवस्थामा घरमा आगलागी हुँदा घर भित्र रहेका दुई जना बालबालिका घरबाट बाहिर निस्कन नसकी जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगलागीबाट घरमा रहेका अन्नपात, लत्ता कपडा, भाडा बर्तन समेत जल्दा करिव १० लाख बराबरको क्षति भएको छ ।
Views: 150

