

बिर्तामोड । साविक प्रदेश १ को नाम पहिचानको आधारमा हुनु पर्ने माग राख्दै पटक पटक सडक आन्दोलन गर्दै आएका पहिचान वादी पार्टी मध्ये ६ वटा पार्टीहरू एकजुट बनेर भर्खरै नामकरण भएको कोशी प्रदेशको नाम संसोधन र प्रदेश संरचनानै परिवर्तन गर्नु पर्ने मागसहित ७ बुधे साझा एजेण्डा लिएर सडक आन्दोलनमा होमिने भएका छन ।

संयुक्त मोर्चाले भोलि फागुन २८ गते कोशी प्रदेश बन्दको आवहान गरेको छ । बन्दको कार्यक्रम शान्तिपूर्ण रहने मोर्चाका संयोजक केबी पालुङ्वाले बताए ।
राष्ट्रिय जनमुक्ति पार्टी, (संघिय परिषद), संघीय लिम्बूवान पार्टी (केन्द्रिय समिति), कोचिला संघर्ष समिति (केन्द्रिय समिति), संघीय खम्बुवान लोकतान्त्रिक पार्टी (केन्द्रिय समिति), लिम्बूवान राष्ट्रिय समिति लोसपा (केन्द्रिय समिति) र किराँत लिम्बूवान प्रदेश नामाङ्कन अभियान केन्द्रिय समिति बीच एकता भएको हो ।

नेपालको उपनिवेशिक, एकात्मक एकल जातीय राज्य संरचनाको अन्त्य गरी नेपालको ऐतिहासिक जातीय पहिचानको आधारमा स्वायत्त राज्य, स्वायत्त क्षेत्र, विषेश क्षेत्र, संरक्षित क्षेत्र एवं गैर– भौगोलिक स्वायत्तता एवम् स्वशासन सहितको संघीय लोकतान्त्रिक बहुल –राष्ट्र राज्य नेपाल स्थापना, राज्य हरेक अङ्गहरूमा जातीय जनसंख्याको आधारमा समानुपातिक, समावेशी र सहभागितमूलक प्रतिनिधित्व एवं पूर्ण समानुपातिक निर्वाचन प्रणालीको सिद्धान्त लागू गर्न, नेपाली समाजको आमु रूपान्तरण गर्न स्वदेश वाद, वहुल राष्ट्रवाद÷बहुजातीय सामुदायिक समाजवादको मार्ग निर्देशनक सिद्धान्त एवं विचार अंगीकार गर्दै नयाँ इन्द्रेणी समाज निर्माण, आन्दोलन र सङ्घर्षको माध्यमबाट नेपालको संविधान २०७२ पूर्नलेखन तथा संशोधन गर्न, बहुलराष्ट्रिय विद्रोह मार्फत नेपालको राष्ट्रिय मुक्ति क्रान्ति सम्पन्न गर्न, लिम्बुवानसँग भएको ५ बुँदे सहमति, संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा, आदिवासी जनजाति, मुस्लिम, पिछडावर्ग, थरुहट, मधेसी लगायतका आन्दोलनहरू र सरकारबीच विगतमा सम्पन्न भएका सहमति तथा सम्झौताहरू कार्वनयन गराउने राजनीतिक मुद्दाहरूमा साझा धारणा बनाएर पहिचानवादी पार्टीहरू आन्दोलनमा उत्रिने भएको आज बिर्तामोडमा आयोजित पार्टी एकताको लागि सहमति घोषणा कार्यक्रममा पत्रकारहरूलाई उपलब्ध गराइएको घोषणा पत्रमा उल्लेख छ ।
घोषणा कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी, (संघिय परिषद) का अध्यक्ष केपी पालुङवा, संघीय लिम्बूवान पार्टी (केन्द्रिय समिति) अध्यक्ष संजुहाङ पालङ्वा, कोचिला संघर्ष समिति (केन्द्रिय समिति) संयोजक त्रिनारायण राजवंशी, संघीय खम्बूवान लोकतान्त्रिक पार्टी (केन्द्रिय समिति) अध्यक्ष रधुनाथ खक्बू, लिम्बूवान राष्ट्रिय समिति लोसपा (केन्द्रिय समिति) अध्यक्ष भक्त खेवाङ र किराँत लिम्बूवान प्रदेश नामाङकन अभियान (केन्द्रिय समिति) संयोजक प्रेमदिप थाम्सुहाङ लिम्बूले वर्तमान राजनीति अवस्था, प्रदेशको नाम र औचित्य बारेमा आआफ्नो धारणा राखेका थिए ।



